जिल्ला अस्पताल सिन्धुलीको तथ्यांक अनुसार जिल्लामा हरेक दिन तीनजनालाई कुकुरले आक्रमण गर्ने गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुकुरको आक्रमणबाट एक हजार एक सय ४३ जना घाइते भएका छन् । जिल्लामा कुकुर छाडा छाड्ने चलन घटेको छैन । घरबाट छाडा छाडिएका कुकुरले बेलाबेला मानिसहरुमाथि आक्रमण गर्ने घटना बढेका छन् । यस्ता घटना कम गराउन सिन्धुलीका स्थानिय तहले बन्ध्याकरणका साथै विभिन्न खोप लगाउने कार्यक्रमनै सञ्चालन गर्ने गरेको छ । कुकुरले टोकेको घटना झन् बढ्दो छ । कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने गरेको चिकित्सकहरु बताउँछन् । जाडो होस् वा गर्मीको रात्रीकालीन समय र बिहान कुकुरले बाइक, साइकल सवार रहेका यात्रुमाथिसमेत झम्टेर टोक्ने गर्छ ।
घरपालुवा र भुस्याहा कुकुरले मानिसलाई टोक्ने गरेको छ । कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गर्छन् । यस्तो घातक रोगलाई नियन्त्रणमा लिनका लागि सबैले मिलेर कुकुरको टोकाइलाई कमभन्दा कम गर्नुपर्छ । त्यसैले जनस्वास्थ्यमा ख्याल गर्दै यसका लागि भुस्याहा कुकुर नियन्त्रणका साथै घरपालुवा कुकुरलाई सम्हालेर राख्ने कार्यक्रम चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनुपर्छ ।