बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका प्रायः नेताका विद्यालयको एसईईको नतिजा शून्य

शुक्रवार , आषाढ २२, २०८१

सिन्धुली – माध्यमिक शिक्षा परिक्षा (एसइई) मा नतिजा सून्य हुने विद्यालयहरु प्रायः नेता शिक्षक तथा व्यवस्थापन समितिमा रहेकाहरु नै रहेको पाइएको छ । जिल्लामा एसईईमा नतिजा सुन्य ल्याउने सिन्धुलीका १८ वटा विद्यालयहरुमा प्रायः नेता शिक्षक तथा चर्चित नेताहरु व्यवस्थापन समितिमा रहेको पाइएको छ ।

जिल्लामा नतिजा शून्य आउने विद्यालयमा प्रायः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटहरु नै प्रअ र व्यवस्थापन समितिमा रहेको छन् । उनिहरु विद्यालयमा मात्र हैन जिल्ला पार्टी तहककै नेतृत्वहरु हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसइई परिक्षामा जिल्लाबाट सामेल भएका कुल १ सय ४५ माध्यमिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको पाइएको थियो ।

नतिजा सुन्य आउने मध्ये दुधौली नगरपालिका ४ मा रहेका ज्ञानकुन्ज मावि पंचरुखी छ । उक्त विद्यालयका प्रध्यानध्यापक प्रेम प्रसाद भट्टराई हुनुहुन्छ । उहाँ विद्यालयका प्रअ मात्र हुनुहुन्न समग्र शैक्षिक क्षेत्रको विकास र शिक्षकहरुको नेता नै हुनुहुन्छ । भट्टराई नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । केन्द्रीय उपाध्यक्ष प्रअ रहेको विद्यालयको नतिजा शून्य आएपछि नेतृत्व प्रतिनै प्रश्न खडा गरिएको छ ।

यस्तै दुधौली नगरपालिका वडा नम्बर ४ कै सरस्वतीमावि विद्यालयको पनि नियमित तर्फका विद्यार्थीको एसईईमा नतिजा शून्य आयो । उक्त विद्यालयका व्यवस्थापन समितिको नेतृत्व संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवारले गर्नु भएको छ । उहाँ उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । उक्त विद्यालयको प्राविधिक धारतर्फका विद्यार्थीहरु परिक्षामा उर्तिण हुन सकेपनि नियमित तर्फको नतिजा भने शून्य भएको हो ।

दुधौलीको २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परिक्षार्थी ननग्रेड अर्थात अनुर्तिण भएका हुन् । दुधौली नगरपालिकाका १०, तिनपाटन गाउँपालिकाका ३, कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको मा १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालय गरी कुल १८ वटा विद्यालयको परिक्षाको नतिजा शून्य छ ।

तिनपाटनमा नतिजा शून्य ल्याउने मध्ये कालिका मावि लङ्गुरछविसेका व्यवस्थापन समितिका अध्यक्षमा नेकपा माओवादी केन्द्र तिनपाटन गाउँकमिटिका उपाध्यक्ष मधु कटुवाल हुनुहुन्छ । उहाँले नेतृत्व गरेको उक्त विद्यालयको नतिजा समेत शून्य आएपछि ठुलै खैलाबैला मच्चिएको छ । उक्त विद्यालयका प्रअ कृष्ण बस्नेत हुनुहुन्छ ।

लंगुर छविसे माविका विद्यार्थीहरुलाई कोचिङ शुल्क भन्दै पैसा उठाएर समेत आफ्ना बालबालिका फेल भएको भन्दै त्यहाँका अभिभावक समेत आक्रोशित बनेका छन् । विद्यार्थीलाई एसईई पास गराइदिने भन्दै पाँच सयका दरले प्रति विद्यार्थी पैसा असुलेको आरोप विद्यालयलाई लागेको छ । तर विद्यालयले एसईई पास गराइदिने भनेर नभएर आफुहरुले कोचिङ शुल्क लिएको बताएको छ ।

गोलन्जोर गाउँपालिकामा १ वटा विद्यालयको परिक्षाको नतिजा शून्य आएको छ । त्यो चर्चाको विद्यालय गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको गृह वडा रहेको घोक्सीलाको मंगला मावि घोकसिला हो । गाउँपालिकाका अध्यक्ष नै संलग्न रहेको विद्यालयको नतिजा शून्य आउनु भनेको गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको विकास र गुणस्तरमाथीनै प्रश्न खडा गरिएको छ ।

मरिण गाउँपालिकाको कुशेश्वर मावि नक्कलीे नतिजा शून्य आएको छ । मरिणको नक्कली मावि वडा नम्बर ३ मा पर्दछ । उक्त वडा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को वडा हो । वडाकै एकमात्र माध्यमिक विद्यालयमा एसईईको परिक्षामा नतिजा शून्य आएपछि निरासा छाएको छ । उक्त विद्यालयले यसैपालिमात्र गाउँपालिकाबाट उच्चमावि (कक्षा १२ सम्म) अध्यापन गराउने अनुमति पाएको थियो । तर आफ्नै विद्यालयबाट एक जना पनि विद्यार्थीहरु एसईईमा उतिर्ण हुन नसकेपछि कक्षा १२ सम्म पढाउने रहर र नैतिकता माथि प्रश्न थपिएको छ ।

जिल्लामा परीक्षामा सहभागीमध्ये ४३ दशमलव ५ प्रतिशत अर्थात २ हजार ३ सय मात्र विद्यार्थीहरु उनिर्ण भएका हुन् । जिल्लामा एसईई परिक्षामा कुल ५ हजार २ सय ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

उता जिल्लाबाट एसईई परिक्षाको नतिजा कमजोर आएको प्रति शिक्षा क्षेत्रका जानकारहरुले गम्भीर चासो व्यक्त गरेका छन । जिल्लाका संस्थागत विद्यालयका संचालकहरुले पनि जिल्लाको रिजल्ट सोचेको भन्दा फरक आएको भन्दै परिक्षा र ग्रेडिङ प्रणालीमाथीनै प्रश्न गर्न थालेका छन् । संस्थागत विद्यालयका संचालकहरुले जिल्लामा परिक्षा केन्द्र छनौट देखि नै षणेन्त्र भएको र परिक्षामा कपी परिक्षणमा थप शंका उत्पन्न भएको दावी गरेका छन् ।

प्राय जिल्लाका संस्थागत विद्यालयहरुमा आफ्ना विद्यार्थीहरुको परिक्षाको अंक पुन गणना र पुनः परिक्षण गर्नु पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा निवेदन दर्ता गराएका छन् ।

यस वर्षको एसईई परिक्षामा जिल्लामा कमलामाई नगरपालिका ६ को सिद्धस्थली माध्यमिक विद्यालयका डिप्लभ फुयाँलले ३ दशमलव ९६ जिपिए प्राप्त गर्दै छात्र तर्फ जिल्ला प्रथम भएका छन् । गौमती माध्यमिक विद्यालय सिन्धुलीमाढीकी शोभिच्छा कार्कीले ३ दमलव ९२ जिपिए सहित छात्रा तर्फ जिल्ला प्रथम भएकी छिन । कार्की सामुदायिक विद्यालयतर्फबाट पनि जिल्ला प्रथम भएकी हुन ।

प्रतिक्रिया