सिन्धुली – सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीको करिब ७० लाख बक्यौता रकम उठन बाँकी रहेको छ । संस्थाले बुधवार पत्रकार सम्मेलन गर्दै संस्थाको ६६ लाख ८० हजार १ सय ६७ रुपैयाँ महसुल बक्यौता रकम उठ्न बाँकी रहेको जानकारी गराएको हो ।
महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न संघसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको जानकारी दिएको छ । बक्यौता रकम नतिर्नेमा सरकारी कार्यालयको १८ लाख ५८ हजार ९ सय २० रुपैयाँ, संघ संस्थाको ५ लाख ८९ हजार ८५ रुपैया र व्यक्तिगत ४२ लाख ३२ हजार १ सय ६२ रुपैया र अन्य रकम तीन महिना सम्म महशुल नतिर्ने उपभोक्ताको बक्यौता रकम रहेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीका अध्यक्ष घनश्याम देवकोटाले जानकारी दिनुभयो ।
बक्यौता रकम तिर्न बाँकी सरकारी कार्यालय,सँघ/सँस्था र व्यक्तिगत सवैले साउनको अन्तिममा महसुल नबुझाएमा धारा काटिने सँस्थाले चेतावनी दिएको छ । यदि समयमा बक्यौता रकम नतिरे दोस्रो चरणमा आगामी भदौ महिना बाट ग्राहकको नाम सहित पत्रपत्रिकाहरूमा सार्वजनिक गर्ने र सो समय भित्र पनि बक्यौता महसुल नबुझाए कुनै पनि समयमा धारा काट्ने संस्थाले जनाएको छ ।
आम्दानी र खर्च सार्वजनिक
यसैगरी सँस्थाले पत्रकार सम्मेलनमा चालु आर्थिक बर्षको आम्दानी र खर्च सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको आम्दानी १ करोड ८ लाख ७ हजार ८ सय १५ र खर्च १ करोड ७ लाख ९९ हजार ३ सय रुपैयाँ रहेको छ ।
जसमा आम्दानी तर्फ पानी महसुल वापत ९३ लाख ९ सय ६ रुपैयाँ, जरिवाना वापत ४ लाख ४१ हजार ८ सय ४५ रुपैयाँ, नामसारी वापत ३२ हजार २ सय ५० रुपैयाँ, ठाउँसारी वापत २ सय रुपैयाँ, कार्ड वापत १ हजार,ई सेवा वापत १० लाख ९९ हजार ६ सय ६० रुपैयाँ, छुट रकम ६८ हजार ५५ रुपैयाँ आम्दानी भएको जनाइएको छ ।