बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

एसइईमा सिन्धुलीका १८ विद्यालयको नजिता ‘शून्य’

बुधवार , आषाढ २०, २०८१

सिन्धुली – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सिन्धुलीका सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसईई परीक्षामा जिल्लाबाट सामेल भएका कुल १ सय ४५ माध्यमिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको पाइएको हो ।

जिल्लामा परीक्षामा सहभागीमध्ये ४३ दशमलव ५ प्रतिशत अर्थात २ हजार ३ सय मात्र विद्यार्थीहरु उतिर्ण भएका हुन् । जिल्लामा एसईई परीक्षामा कुल ५ हजार २ सय ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए । एसईई परीक्षामा जिल्लामा कमलामाई नगरपालिका ६ को सिद्धस्थली माध्यमिक विद्यालयका डिप्लभ फुयाँलले ३ दशमलव ९६ जिपिए प्राप्त गर्दै छात्र तर्फ जिल्ला प्रथम हुनु भएको छ । गौमती माध्यमिक विद्यालय सिन्धुलीमाढीकी शोभिच्छा कार्कीले ३ दमलव ९२ जिपिए सहित छात्रा तर्फ जिल्ला प्रथम हुन भएको छ । कार्की सामुदायिक विद्यालयतर्फबाट पनि जिल्ला प्रथम हुनु भएको हो ।

सात गाँउपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा दुई नगरपालिका सहित ५ ओटा गाउँपालिकाका विद्यालयको नतिजा शुन्य आएको हो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार सबैभन्दा धेरै दुधौली नगरपालिकाका सामुदायिक विद्यालयहरुको नतिजा शून्य छ । दुधौलीको २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परीक्षार्थी ननग्रेड अर्थात अनुर्तिण भएका हुन् । विशेष गरी विद्यार्थीहरुलाई सामाजिक, विज्ञान, गणित र अंग्रेजी विषयमा अनुतिर्ण भएका छन ।

जिल्लाको दुधौली नगरपालिकाका १०, तिनपाटन गाउँपालिकाका ३, कमलामाई नगरपालिकाको एक, सुनकोशी गाउँपालिकाका १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालय गरी कुल १८ वटा विद्यालयको परीक्षाको नतिजा शून्य भएको हो । दुधौलीको मावि पात्ले भन्ञ्यांग, जनप्रेमी मावि अरुणडाँडा, जनजागृति मावि कोक्टी, भानु मावि रतनपुर, मावि बाँसबोटे, मावि सुँगारे, अरुणोदय मावि राताटार, ज्ञानकुन्ज मावि पचरुखी, मावि सिर्थौली, कमलामावि मैनीको नतिजा शून्य आएको छ ।

यस्तै दुधौलीकै सरस्वती मावि डकाहको विद्यालयका नियमित विद्यार्थीको नतिजा शून्य आएको छ । उक्त विद्यालयका प्राविधिक धारका विद्यार्थी मात्र उतीर्ण छन् । दुधौली नगरपालिकामा सामुदायिक विद्यालयबाट कुल १ हजार २ जना विद्यार्थी परीक्षामा सामेल भएकामा जम्मा १ सय १२ जना अर्थात २ दशमलव ९९ प्रतिशतमात्र उतीर्ण भएका छन् । यस्तै चारवटा संस्थागत विद्यालयका १ सय २५ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ७१ दशमलव ३० अर्थात ८२ जना मात्र पास भएका छन् ।

यस्तै निपाटन गाउँपालिकाका २१ विद्यालयमध्ये १८ वटा मात्र विद्यालयका विद्यार्थीहरू उतीर्ण भएका छन् । तीन वटा विद्यालयको नतिजा शून्य छ । कमला मावि छरछरे, कालिका मावि लंगुरछविसे र मावि रिठ्ठेको नतिजा शून्य आएको हो । पालिकाबाट कुल ६ सय ३१ जना विद्यार्थीहरु परीक्षामा सामेल भए पनि ३ सय ९४ जना मात्र उतीर्ण भएको पाइएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो ।

लंगुर छविसे माविका विद्यार्थीहरुलाई कोचिङ शुल्क भन्दै पैसा उठाएर समेत आफ्ना बालबालिका फेल भएको भन्दै त्यहाँका अभिभावक समेत आक्रोशित बनेका छन् । विद्यार्थीलाई एसईई पास गराइदिने भन्दै पाँच सयका दरले प्रति विद्यार्थी पैसा असुलेको आरोप विद्यालयलाई लागेको छ । तर विद्यालयले एसईई पास गराइदिने भनेर नभएर आफुहरुले कोचिङ शुल्क लिएको बताएको छ ।

यसैगरी कमलामाई नगरपालिका २ मा रहेको पिपलभन्ज्याङ माविको नतिजामरिणको कुशेश्वर मावि नक्कली, सुनकोशीको शिद्धमावि कोटगाउँ र गोलन्जोरको मंगला मावि घोकसिलाको नतिजा शून्य आएको हो ।

जिल्लाको फिक्कल र घ्याङ्लेख गाउँपालिकाका भने औषत सबै विद्यालयका विद्यार्थी उतीर्ण भएको पाइएको । ती पालिकामा भने शून्य नतिजा हुने विद्यालय नभएको बताइएको छ ।

उता जिल्लाबाट एसईई परीक्षाको नतिजा कमजोर आएको प्रति शिक्षा क्षेत्रका जानकारहरुले गम्भीर चासो व्यक्त गरेका छन । जिल्लाका संस्थागत विद्यालयका संचालकहरुले पनि जिल्लाको रिजल्ट सोचेको भन्दा फरक आएको भन्दै परीक्षा र ग्रेडिङ प्रणालीमाथि नै प्रश्न गर्न थालेका छन् । शुन्य नतिजा पाउने विद्यालयहरुमा शिक्षक नेताकै हात रहेको स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया