सिन्धुली – शनिबार विहान देखि पशुसेवा कार्यालय सिन्धुलीको गेटमा सर्वसाधरणको भिड थियो । कार्यालयको गेट अगाडि रहेका सर्वसाधरणको हातहातमा दही, चिउरा, अण्डा र कुल्फी देखिन्थ्यो । कोहि कुल्फी खादै थिए भने कोहि दहीचिउरा । कार्यालयले निःशुल्क दही, चिउरा, अण्डा र कुल्फी वितरण गरेपछि सार्वसाधरणको भिड लागेको थियो ।
शनिबार सिन्धुलीमाढी बजार झर्नुभएको कमलामाई नगरपालिका १२ का सुबास बहादुर सार्की निशुल्क दहीचिउरा साथै अण्डा र कुल्फी खाएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सारै मिठो खाजा खाइयो, सितैमा दही चिउरा, अण्डा र कुल्फी बाडेको रहेछ । म र मेरो श्रीमती बसेर खाएर आयौँ । घरमै खाए जस्तो, बजारको विभिन्न थरिका खानेकुरा भन्दा यस्तै खानेकुरा एकदमै राम्रो ।” सार्कीले आयोजकलाई धन्यवाद समेत दिनुभयो । उहाँले आफुलाई भोक लागेको समयमा निःशुल्क स्वथ्य खानेकुरा मिलेको भन्दै खुसि हुदै उहाँले भन्नुभयो, “बिहानै खाना खाएर बजार झरेको, साढे ३ बजि सकेको थियो । खाजा के खाने भन्दै दुइ बुढाबुढी कुरा गर्दै थियौँ, पशु कार्यालय अगाडि मानिसको भिड देख्यौँ । के रहेछ भनेर हेर्न गएका हामी निशुल्क खानेकुरा वितरण गरेको देखेपछि बुढाबढी त्यहि बसेर खायौँ । मैले त थपेर पनि दहीचिउरा खाए ।”
सिन्धुलीमाढीमा सर्वसाधरणलाई निःशुल्क दही चिउरा वितरण गरिएको छ । असार १५ धान दिवसको अवसरमा पशुसेवा कार्यालय सिन्धुलीले सर्वसाधरणलाई निःशुल्क दही चिउरा, अण्डा र कुल्फि वितरण गरेको हो ।
बजारमा पाइने पेय पदार्थभन्दा दही मोहि सेवन गरौ स्वास्थ रहौँ भन्ने नाराको साथ दहीचिउरा, अण्डा र कुल्फि वितरण गरेको पशु सेवा कार्यालयका सरोज जिरेलले बताउनुभयो । उहाँका अनुसार ८ सय भन्दा बढी सर्वसाधरणले निशुल्क अण्डा, दही, चिउरा र कुल्फि खाएका छन् । पशुुसेवा कार्यालय सिन्धुलीको गेटमै निशुल्क अण्डा, दही, चिउरा र कुल्फि वितरण गरिएको थियो ।
पशुजन्य पदार्थ उपभोग बारे जनचेतना जगाउन उक्त कार्यक्रम संचालन गरेको जिरेलले बताउनुभयो । कार्यालयले यस अघि दोरम्बा गाउपालिकाको दुर्गम ठाउँमा रहेको थामी समुदायको विद्यार्थी रहेको सन्जिवनी माध्यमिक विद्यालयमा दिवा खाजाको रुपमा मासु, अन्डा, खुवा बितरण गरेको थियो । यस्तै, दुधौली नगरपालिकाको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई मासु चिउरा, दही, खुवा, अन्डा बितरण गरेको थियो । साथै नवज्योती बहिरा विद्यालयका विद्यार्थीलाई खिर, दूध बितरण गरेको थियो । केहि समय पछि समता स्कुलमा दिवा खाजामा १ दिन पशुजन्य पदार्थ बितरण गर्ने र सडक निर्माणमा लागेका श्रमिकहरुलाई अन्डा बितरण गर्ने कार्याक्रम रहेको उहाँले बताउनुभयो ।