सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका ६ स्थित घुमाउने चैनपुरमा रहेको ऐतिहासिक मालेपाटी प्रयोगविहिन अवस्थामा रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले ठेक्का लगाई पुनःनिर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दापनि स्थानीय तहलाई हस्तान्तरण नगर्दा ऐतिहासिक गौरबको धरोहर मालेपाटी प्रयोगमा आउन नसकेको हो ।
काभ्रेको गंगा एण्ड सिंग कन्स्ट्रक्सनले एक करोड ११ लाख ७३ हजार ४३७ को लागतमा निर्माण सम्पन्न गरि पुरातत्व विभागलाई हस्तान्तरण गरिसकेको ठेकेदार कम्पनिका प्रोपाइटर मिन बहादुर तामाङले जानकारी दिनुभयो । २०७८ साल जेठ २७ गतेबाट पुनःनिर्माण शुरु गरिएको मालेपाटी समयावधिभन्दा केहि समयपछि निर्माण सम्पन्न भएको प्रोपाइटर तामाङले बताउनुभयो । निर्माण सम्पन्न भइसकेको मालेपाटी पुरातत्व विभागले स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने भएपनि विभागले कुनै चासो नदेखाएको सुनकोशी गाउँपालिका ६ नम्बर वडाका अध्यक्ष महिन्द्रबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाले पुरातत्व विभागलाई संरचना हस्तान्तरण गरिदिनु हुन भनि ताकेता गर्ने पहुँच राख्दैन । निर्माण सम्पन्न भइसकेको हुँदा मालेपाटी स्थानीय तहलाई हस्तान्तरण गर्न सरोकारवाला निकायले ताकेता गरिदिन आग्रह गर्दछु ।” यता, गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले भने आफूलाई मालेपाटीको विषयमा कुनैपनि जानकारी नभएको बताउनुभयो ।
कालीगढयुक्त मालेपाटीले पुरानै स्वरुप पाएपनि प्रयोगमा नआएपछि त्यहाँका संरचनाको संरक्षण हुन सकेको छैन । मालेपाटी बाहिरबाट जति सुन्दर देखिन्छ भित्र भने त्यतिनै फोहोर र दुर्गन्धित छ । मालेपाटीसँगै निर्माण गरिएको शौचालयका संरचना फुटेका छन् । त्यस्तै, ऐतिहासिक सम्पदाको पुनः निर्माण भएपनि त्यहाँसम्म पुग्ने बाटोको अवस्था दयनिय छ । राज्यले ऐतिहासिक सम्पदाको पुनःनिर्माण गरेर सराहनिय काम गरेपनि संरक्षणमा वास्ता नगर्दा राज्यको लगानी बालुवामा पानी हाले सरह भएको स्थानीय बताउँछन् । स्थानीय हरि मगर भन्नुहुन्छ, “पुरातात्विक तथा ऐतिहासिक महत्वको मालेपाटी टाढाबाट हेर्नकालागि मात्र निर्माण गरिएको होइन । संरचना बनाएपछि सडकसँगै आवश्यक पुर्वाधार बनाउन राज्यले कञ्जुस्याईँ गर्नुृहुदैँन ।”
सिन्धुलीका सरोकारवाला निकायले मालेपाटी हस्तान्तरणकलाागि कुनै ताकेता नगरेको स्थानीयले बताएका छन् । ऐतिहासिक संरचनाको महत्व नबुझ्दा मालेपाटी प्रयोगविहिन अवस्थामा रहेको स्थानीय बताउछन् । स्थानीय अनिल श्रेष्ठले भन्नुभयो, “अन्य स्थानिय तहले ऐतिहासिक संरचनाबाट आर्थिक लाभ लिइरहेका छन् । राज्यले लगानी गरेर निर्माण सम्पन्न भइसकेको संरचना ठिंग उभिरहदापनि यहाँका संघीय सांसद, प्रेदश सांसद र स्थानीय सरकारले नदेख्नु लज्जास्पद हो ।” मालेपाटी स्थानीय तहलाई हस्तान्तरण गर्न यहाँका जनप्रतिनिधिले विशेष पहल गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । मालेपाटीको उचित व्यवस्थापन गरी स्थानीय सरकारले आन्तरिक आम्दानी वृद्धि गर्नसक्नेबारेमा जनप्रतिनिधि सचेत हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।
के हो मालेपाटी ?
ऐतिहासिक मालेपाटी बि.स.१८५० सालमा सितलपाटी अमारे क्षेत्रमा वीर्ता पाएर बसोबास गर्नुहुने सरदार डम्बरसिंह थापाका भाई अरिमर्दन बगाले थापाले निर्माण गरेको दिलिप कुमार थापाद्वारा लिखित ‘सिन्धुलीको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक झलक’ पुस्तकमा उल्लेख छ । डम्बरसिंहका सातपुस्ताका सन्तानमध्यका सितलपाटी–सारीछाप गाउँ बस्ने गणेश बहादुर बगाले थापाको भनाई उद्धृत गर्दै लेखक थापाले मालेपाटीको इतिहास उक्त पुस्तकमा लेख्नुभएको छ ।
दुई तले मालेपाटी कालीगढीयुक्त समेत रहेको छ । काठमाडौँबाट पूर्वतर्फ जाने तथा फर्कने बटुवाहरुको लागी बास बस्नको लागी उक्त पाटी बनाइएको थापा बताउनुहुन्छ । मालेपाटीको नामाकरण बारेमा रोचक किंवदन्ती रहेको थापाले बताउनुभयो । कुनै बेला राणाका ठूलै अफिसर पूर्व यात्रामा यहाँ आइपुगे पछि पाटीको निकै प्रशंसा गर्दै यस पाटीको झ्याल ढोका कुँद्ने मगर मिस्त्रीलाई बोलाएर फेरी यस्तै कलात्मक झ्याल ढोका अर्को बनाउन नसकोस् भनेर दुबै हात काटी दिएको किंवदन्ती रहेको थापाले बताउनुभयो । हात काटिएपछि डराएका मगर समुदायले कसैले पनि यो पाटी कसले बनाएको भनेर सोधखोज गर्दा ‘माले’ अर्थात मगर भाषामा थाहा छैन भनेर जवाफ दिन थालेको थापाले बताउनुहुन्छ । लेखक थापाले भन्नुभयो, “यसरी माले भन्दा भन्दै यो पाटीको नाम नै मालेपाटी रहन गएको हो ।”
