सिन्धुली– एसइई परिक्षामा सिन्धुली प्रथम हुनुभएका डिप्लभ फुयाँललाई सिद्धस्थली माध्यमिक विद्यालयले सम्मान गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको सिद्धस्थली विद्यालयले ३ दशमलब ९६ जीपीए प्राप्त गर्दै जिल्ला प्रथम हुन सफल भएका आफ्नो विद्यार्थी फुँयाललाई पुरस्कारसहित सम्मान गरेको हो ।
जिल्ला प्रथम हुनुभएका फुयाँललाई १० हजार रुपैँयाको चेक विद्यालयका प्रधानाध्यापक ओम प्रधानले हस्तान्तरण गर्नुभएको थियो । बधाई एवं सम्मान कार्यक्रममा बोल्दै प्रधानाध्यापक प्रधानले सम्पूर्ण विद्यार्थी एवं अभिभावकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले एसइईमा सन्तोषजनक नतिजा नआएका विद्याथीलाई हतोत्साहि नहुन आग्रह गर्नुभयो । ‘असफलता भनेको फेरी एकपटक सुरुवात गर्ने अवसर हो, यो पटक थप कुशलतापुर्वक’, उहाँले भन्नुभयो, ‘असफलताबाट नै सफलताको मार्ग बनाउन विद्यार्थीलाई आग्रह गर्दछु । हतोत्साहन र असफलता सफल हुनको निम्ति अघि बढाउने दुई सिढी हुन् ।’
सम्मान कार्यक्रममा विद्यालयका उप प्रधानाध्यापक जिवन लामाले निरन्तर प्रयास गरे एकदिन निश्चितपनि सफल हुने बताउनुभयो । सफल हुन निरन्तर प्रयास गरिरहनुपर्नेमा उहाँले जोड बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सुझाव दिदैँ भन्नुभयो, ‘नतिजा नराम्रो आएका भाइबहिनीहरु पटक्कै निराश नहुनुहोला । नतिजा नराम्रो आउँदैमा तपाईँको जिन्दगी सकिएको होइन, आउँदा दिनमा कयौँ अवसर छन् ।’