बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग सम्झौता

बिहिवार , आषाढ १४, २०८१

सिन्धुली– सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसन बीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो । कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा एकसाथ हस्ताक्षर गरेका थिए । सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थित कलेजमा प्लस टु अध्ययन गरेका र जापानिज भाषाको एनफोर उत्तिर्ण गरेका विद्यार्थीले जापानमा स्वतः रोजगारी पाउने छन् । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट प्लस टु, होटेल म्यानेजमेन्ट, डिप्लोमा इन हस्पिटालिटि र जापानी भाषाको पनि पढाइ हुने गरेको कलेजका प्रमुख समिर ढकालले जानकारी दिनुभयो ।

यस कलेजका धेरै विद्यार्थीहरू विदेश तथा स्वदेशका विभिन्न पाँच तारे होटलमा तथा रिसोर्टमा कार्यरत रहेको ढकालले जानकारी दिनुभयो । “कलेजमा अध्ययनरत उत्कृस्ट विद्यार्थीका लागि रोजगारको निम्ति कलेजले नै पहल गर्ने गरेको छ,” उहाँले भन्नुभयो । ढकालका अनुसार विभिन्न मुलुकमा गरेर ५० जना विद्यार्थीहरू आकर्षक तलब तथा सेवासुविधासहित विदेशमा कार्यरत छन् । दुबई, कतार, बहराईन, मलेशिया र कुवेत लगायतका मुलुकमा काम गर्न विद्यार्थी गएका छन् । पछिल्लो समय होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले वर्षेनी कलेजमा भर्ना हुनेको संख्या बढ्दै गएको ढकालले बताउनुभयो ।

नेपालमा हाल विभिन्न कलेजले होटेल व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ । सिपमूलक शिक्षा भएकाले यस विषयमा विद्यार्थीको आकर्षण बढेको मान्न सकिन्छ । साथै विदेशमा समेत आकर्षक अवसर रहेकाले पनि विद्यार्थीहरूको रोजाइमा होटल व्यवस्थापन विषय पर्ने गरेको छ । होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्न सक्ने कलेज सञ्चालक ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “होटल व्यवस्थापन सिपमूलक शिक्षा भएकाले उत्पादित जनशक्तिहरू रोजगारीमा मात्र नभएर रोजगार दाता तथा उद्यमशील बन्छन् ।” सिन्धुलीमा कलेज खुलेको सात वर्ष भइसकेको छ । सिन्धुलीको रातमाटामा उक्त कलेज रहेको छ ।

डेढ करोडको लगानीमा होटल म्यानेजमेन्टको पढाई

छ वर्षअघिबाट होटल म्यानेजमेन्ट पढाउन थालेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा सुविधासम्पन्न प्रयोगात्मक ल्याब रहेको छ । झण्डै डेढ करोड लगानीमा स्थापना गरिएको उक्त कलेजमा एसिसहित मल्टिमिडिया कक्षा रहेको प्रमुख ढकाल बताउनुहुन्छ । आफ्नो कलेजमा सिन्धुलीसहित सर्लाही, महोत्तरी, धुनषा, उदयपुर लगायत दर्जनौँ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेको प्रमुख समिर ढकालले बताउनुभयो ।

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले यसअघीनै स्कटल्याण्ड, मलेसिया र नेपालका विभिन्न शैक्षिक संस्थाबाट सम्बन्ध प्राप्त रहेको ढकालले बताउनुभयो । कलेजमा प्रन्टअफिस, भान्सा, रेष्टुरेन्ट, हाउसकिपिङ, बार, कम्युटर ल्याब लगायत बरिस्टा ट्रेनिङकोलागि ल्याब रहेको ढकालले जानकारी दिनुभयो ।

होटल म्यानेजमेन्टमा क्रेज बढ्दो

सिन्धुलीमा होटल म्यानेजमेन्टप्रति विद्यार्थीको आकर्षण बढेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टका ढकाल बताउनुहुन्छ । तुरुन्त रोजगार पाइने क्षेत्र भएकोले होटल म्यानेजमेन्टप्रति विद्यार्थीको आकर्षण बढेको ढकालले बताउनुभयो । “अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई परेर सिकेका कामदार छन् । काम गर्दागर्दै सिकेका यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले पनि अन्तर्राष्ट्रिय स्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्छन् । नेपालमै पनि नयाँनयाँ पर्यटकीय स्थलको विकास, ठूल्ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ । राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने युवापुस्ताको संख्या बढेको छ ।”

कमाउँदै, पढ्दै विद्यार्थी

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपालसहित भारत, कुवेत लगायत विभिन्न देशमा विद्यार्थीकालागि इन्र्टनसिप गर्न पठाउने गरेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “इन्टर्नसिप गर्न हामीले नेपालकै प्रतिष्ठित होटल देखि विदेशसमा समेत पठाउछाँै । विदेशमा गएर इन्टर्न गर्नका लागि प्रोसेसिङ चार्ज आफैंले तिर्नुपर्छ । व्यवस्थापन भने क्याम्पसले गर्छ । तर, विदेश पुगेर होटलमा इन्टर्न सुरु गरेपछि कम्तिमा २५ देखि ३० हजार मासिक होटलले दिन्छ । खान बस्न र यातायातको सुविधा पनि होटलले नै व्यहोर्छ ।”

 

प्रतिक्रिया