सिन्धुली – सिन्धुलीका नौँ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । दुई नगरपालिकासहित ७ वटा गाउँपालिका भएको जिल्लामा शनिबार मरिण गाउँपालिकाले गाउँ सभामार्फत बजेट सार्वजनिक गरेको थियो भने आठ पालिकाले सोमबार बजेट सार्वजनिक गरेका हुन् । भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
कमलामाई नगरपालिकाले कुल १ अर्ब ३५ करोड ९ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । सोमबार नगर सभाको १५ औं अधिवेशनको प्रथम बैठकमा निति कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कमलामाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाको बिभिन्न बिधेयक र बजेट पेश गर्नुभएको थियो ।
दुधौली नगरपालिकाले आगामी वर्षका लागि कुल १ अर्ब ९ करोड ६१ लाख ११ हजार ४ सय बजेट विनियोजन गरेको छ । नगरपालिकाले कुल बजेटको ७० प्रतिशत चालु तर्फ र ३० प्रतिशत पुजीँगत तर्फ विनियोजन गरेको उपमेयर चन्द्र किशोर थारुले जानकारी दिनुभयो । नगरपालिकाले आगामी वर्षको निति तथा कार्यक्रममा स्वास्थ्य लाई प्रमुख प्राथमिकता दिएको छ । स्वास्थ्य, शिक्षा, कृषिपशुलाई प्राथमिकता दिएको उपमेयर थारुले बताउनुभयो ।
गोलन्जोर गाउँपालिकाले कुल ५७ करोड ४ लाख ११ हजार ५ सय बजेट विनियोजन गरेको छ । बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान गरी जम्मा ६ करोड ७९ लाख ३ हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै राजश्व बाँडफाँड तर्फ संघिय सरकार र प्रदेश सरकार बाट १२ करोड६८ लाख ७५ हजार ८ सय ५० रुपैयाँ र आन्तरिक आय तर्फ ४ करोड ५१ लाख २६ हजार ६ सय ५० सहित कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट अनुमानित गरिएको गाउँपालिकाले जनाएको छ ।
तीनपाटन गाउँपालिकाले कुल ८१ करोड ५० लाख ३५ को बजेट विनियोजन गरेको छ । संघिय सरकार, प्रदेश सरकारको शसर्त अनुदान सहितको बजेट रहेका गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । यस्तै पूर्वाधार विकास संगै आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाहलाई समेत कार्यक्रममा प्राथमिकता राखेको छ । गाउँपालिकाको विनियोजन विधेयक २०८१, तीनपाटन गाउँपालिकाको आर्थिक विधेयक २०८१ लाई सर्वसम्मतिले पारित गर्दै १४ औं गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत पदमा बहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस्तै, हरिहरपुरगढी गाउँपालिकाले ६८ करोड ५९ लाख ७७ हजार बजेट बिनियोजन गरेको छ । वित्तिय समानिकरण संघिय सरकार बाट ९ करोड ६२ लाख, प्रदेश सरकार बाट ९१ लाख ६९ हजार, संघिय सरकार राजस्व बाँडफाँड बाट १२ करोड २१ लाख, प्रदेश सरकार वाँडफाँड बाट प्राप्त हुने सवारी साधन कर ४ करोड ३२ लाख १ हजार ५ सय, स्थानीय राजस्व वाँडफाँड ६० लाख, संघिय सरकार शसर्त चालु २० करोड १६ लाख २५ हजार, संघिय सरकार शसर्त पूँजिगत ९ करोड ३१ लाख प्राप्त गर्ने गाउँपालिकाले जानकारी दिएको छ । त्यस्तै प्रदेश शसर्त अनुदान चालु १ करोड ३८ लाख ८४ हजार, संघिय सरकार विषेश अनुदान पुँजीगत ३ करोड ८० लाख, संघिय सरकार समपुरक अनुदान ६० लाख, प्रदेश समपुरक अनुदान ५० लाख र गत वर्षको अनुमानीत संचितकोष बचत र अन्य प्राप्तीबाट ३ करोड ४६ लाख ९८ हजार ५ सय उपाध्यक्ष चेख बहादुर थिङले प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाको निति कार्यक्रममा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
सुनकोशी गाउँपालिकाले कुल ६४ करोड १५ लाख २७ हजार ९ सय बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सोमबार दोस्रो गाउँसभाको १५ औँ अधिवेशनको ३१ औँ बैैठकबाट निति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
मरिण गाउँपालिकाले ६३ करोड ६० लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । चालु खर्चतर्फ कूल बजेटको करिब ६८ प्रतिशत अर्थात् ४३ करोड २० लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगत शीर्षकतर्फ भने २० करोड ३९ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कूल बजेटको ३२ प्रतिशत हो । गाउँपालिकाको आफ्नै स्रोतबाट खर्च गर्ने गरी ३२ करोड ४५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । बाँकी ३१ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको बजेट संघ र प्रदेशको अनुदानबाट खर्च गरिने उल्लेख छ । जसमा संघीय सरकारतर्फको बजेट २५ करोड ७३ लाख ६६ हजार र प्रदेश सरकारतर्फ पाँच करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
गाउँपालिकाले आगामी आवका लागि संघीय सरकारबाट समानीकरण अनुदानमार्फत नौ करोड ७७ लाख रुपैयाँ पाउने भएको छ । यस्तै राजस्व बाँडफाँडमार्फत ११ करोड ८१ लाख, सशर्त अनुदानतर्फ २४ करोड ३३ लाख ६६ हजार र विशेष अनुदानमार्फत एक करोड ४० लाख रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष माझीले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।
यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ९२ लाख ५३ हजार, ससर्त अनुदान दुई करोड ६१ लाख ४७ हजार, समपूरक अनुदान दुई करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँडमार्फत दुई करोड ६१ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
आगामी आवका लागि विनियोजित बजेटमध्ये चार करोड ३७ लाख ४९ हजार रुपैयाँ आर्थिक विकासका लागि छुट्याइएको छ । यस्तै पूर्वाधार विकासमा आठ करोड ७३ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष विमला माझीले बताउनुभयो । सुशासन तथा संस्थागत विकास शीर्षकमा एक करोड २० लाख ७३ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड ५६ लाख ४० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३३ करोड ६७ लाख ८९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ११ करोड २४ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
घ्याङलेख गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल ४२ करोड ९० लाख ३ हजार ३ सय ६५ बजेट विनियोजन गरेको छ । पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षीलाई प्रमुख प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको गाउँपालिकाका उपाध्यक्ष शखंरमान घलानले जानकारी दिनुभयो ।