सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सार्वजनिक गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा पाँचौं अधिवेशन मार्फत गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान प्रख्यातले आर्थिक बर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष बिमला माझीले बजेट सार्वजनिक गर्नुभएको हो ।
आगामी आर्थिक वर्षका लागि पनि गाउँपालिकाले कृषि, पर्यटन, सामाजिक विकास, भौतिक विकास, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले “कृषि, पशुपालन र पूर्वाधारः मरिण गाउँपालिका विकासको आधार” भन्ने दीर्घकालीन सोच हासिल गर्न नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गरिने बताउनुभयो ।
आधुनिक कृषि प्रणालीको विकास गरी व्यावसायिक, उत्पादनमुखी कृषि तथा पशुपालनलाई प्रवर्द्धन गर्दै गाउँपालिकालाई खाद्यान्न, दूध र मासुमा आत्मनिर्भर बनाउन नवप्रवर्तनकारी एवं समुदायमा आधारित पशुपन्छी वृहत् साझेदारी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । मरिणका किसानलाई प्रोत्साहन र स्थानीय उत्पादन एवं उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न बाहिरी जिल्लाबाट आयात हुने तरकारी लगायतका कृषिजन्य उपजमा प्रतिबन्ध लगाई आयातलाई प्रतिस्थापन गर्ने नीति गाउँपालिकाले अवलम्बन गर्ने भएको छ ।
वित्तीय पहुँचबाट टाढा रहेका किसानहरूको लागि सरोकारवाला बैंक तथा वित्तीय संस्था सँग समन्वय गरी विना धितो विना झन्झट २ लाख रुपैंया सम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको खातिर महान् १० वर्षे जनयुद्दमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने महान् सहिद शेरमान कुँवरको सम्मानमा गौरीशंकर मा.वि.जयमंगललाई शेरमान कुवँर मा.वि नामाकरण गरिने गाउँपालिका अध्यक्ष मोक्तानले घोषणा गर्नुभयो ।
गाउँ सभाको दोश्रो बैठकमा उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ६३ करोड ६० लाख ६३ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । पुँजीगत तर्फ २० करोड ३९ लाख ९५ हजार र चालु तर्फ ४३ करोड २० लाख ६८ हजार ८ सय रुपैयाँ गरी कुल ६३ करोड ६० लाख ६३ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ कूल बजेटको करिब ६८ प्रतिशत अर्थात् ४३ करोड २० लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगत शीर्षकतर्फ भने २० करोड ३९ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कूल बजेटको ३२ प्रतिशत हो ।
उपाध्यक्ष माझीले प्रस्तुत गर्नुभएको बजेटमध्ये झण्डै आधा संघ र प्रदेश सरकारको स्रोतमा निर्भर रहेको छ । गाउँपालिकाको आफ्नै स्रोतबाट खर्च गर्ने गरी ३२ करोड ४५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । बाँकी ३१ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको बजेट संघ र प्रदेशको अनुदानबाट खर्च गरिने उल्लेख छ । जसमा संघीय सरकारतर्फको बजेट २५ करोड ७३ लाख ६६ हजार र प्रदेश सरकारतर्फ पाँच करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
मरिण गाउँपालिकाले आगामी आवका लागि संघीय सरकारबाट समानीकरण अनुदानमार्फत नौ करोड ७७ लाख रुपैयाँ पाउने भएको छ । यस्तै राजस्व बाँडफाँडमार्फत ११ करोड ८१ लाख, सशर्त अनुदानतर्फ २४ करोड ३३ लाख ६६ हजार र विशेष अनुदानमार्फत एक करोड ४० लाख रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष माझीले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।
यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ९२ लाख ५३ हजार, ससर्त अनुदान दुई करोड ६१ लाख ४७ हजार, समपूरक अनुदान दुई करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँडमार्फत दुई करोड ६१ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
आगामी आवका लागि विनियोजित बजेटमध्ये चार करोड ३७ लाख ४९ हजार रुपैयाँ आर्थिक विकासका लागि छुट्याइएको छ । यस्तै पूर्वाधार विकासमा आठ करोड ७३ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष माझीले बताउनुभयो ।
सुशासन तथा संस्थागत विकास शीर्षकमा एक करोड २० लाख ७३ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड ५६ लाख ४० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३३ करोड ६७ लाख ८९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ११ करोड २४ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।