बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका स्थानीय तह विपद् व्यवस्थापनमा जुटे

शनिवार , आषाढ ९, २०८१

सिन्धुली –मनसुन सुरु भएसँगै जिल्लाका नौ स्थानीय तह विपद् व्यवस्थापनमा जुटेका छन् । जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना बनाइरहेका छन् । वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका नौ वटै स्थानीय तहमा विपद्को जोखिम रहेका ठाउँहरू पहिचान गर्ने र विपद् परेमा आश्रय लिने ठाउँ खोजी गरी तयारी अवस्थामा राखिने बताएका छन् ।

जिल्लाका सबै स्थानिय तहका प्रमुखले आ–आफ्नो क्षेत्रमा विपद् जोखिम क्षेत्र पहिचान गरेर विपद् रोकथामका कार्य गर्ने, विपद् परेमा आश्रयस्थलको व्यवस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अवस्थामा राखेको बताएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरूले खोज तथा उद्धारका सामग्री एवं तालिमप्राप्त जनशक्ति सबै तयारी अवस्थामा राखिएको छ । जिल्लामा विपद व्यवस्थापनको डेमो समेत प्रदर्शन गरिएको छ । वर्षायाम सुरु भएको बाढी र पहिरोका कारण हुने प्रभावितहरुको उद्धार र राहातका लागि जिल्लास्थित सुरक्षा निकायहरुबीच संयुक्त अभ्यास गरिएको छ । विपदमा परेकाहरुको खोज तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धारा र राहत सामाग्रीको बन्दोबस्ती, सुरक्षा निकायसंगको समन्वय तथा परिचालन लगायतका विषयमा केन्द्रित रहेर पूर्वअभ्यास गरिएको थियो ।

कमलामाई नगरपालिका सिन्धुलीका मेयर उपेन्द्रकुमार पोखरेले सिन्धुली जिल्ला धेरै वर्षा हुने ठाउँ भएकोले बाढी र पहिरोबाट धेरै जिल्लावासीहरु प्रभावित हुने गरेको बताउनुभयो । उहाँले यस्ता विपद्मा परेकाहरुको कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा गरिएका अभ्यासहरुले साँच्चिकै नागरीकहरुको समयमा उद्धार गर्न सहयोग पुग्ने विश्वास लिनुभयो । बाढी पहिरो, भूकम्प, आगलागी, हावाहुरी, चट्याङलगायतका विपद्हरु हरेक वर्ष हुने गरेका छन् । यस्ता विपदमा परेका नागरीकहरुको उद्धार र राहतमा नगरले आवश्यक पर्ने सबै खाले सहयोग गर्न प्रतिबद्ध रहेकोसमेत उहाँको भनाई छ ।

मरिण गाउँपालिका विपद व्यवस्थापनाको तयारी अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले बताउनुभयो । तारजाली खरिद गरिसकेको उहाँले बताउनुभयो । आम नागरिकको जनधनको क्षती हुन नदिन तयारी अवस्थामा रहेको उहाँको भनाई छ । “विपदजन्य घटना घटेमा तत्काल खोज तथा उदारको काम गरिरहेका छौँ । खोजी तथा उदारका लागि हामी तयारी अवस्थामा छौँ, ”उहाँले भन्नुभयो ।

सिन्धुलीमा सुनकोशी, बागमती, कमला, मरिण, चदाहा जस्ता नदीका कारण बाढी र डुवानको उच्च जोखिम हुने गरेको छ । यी नदीहरुलेले वर्षेनी आधादर्जनबढी नागरीकहरुको ज्यान लिने गरेका छन् । यस्तै महाभारत क्षेत्र, चुरे र भिरला जमिन भएका क्षेत्रमा अत्याधिक पहिरोको जोखिम हुने गरेको छ । चुरे विनासका कारण आउने खहरेहरुले नदीको सतह उकासीदा बाढीहरु बस्तिमा पस्ने र खेतियोग्य जमिन कटान गर्नुका साथै बस्तिहरु डुबानमा पर्ने गरेका छन ्। बागमती नदिका कारण हरिहरपुरगढी गाउँपालिका, मरिण नदीका कारण मरिण गाउँपालिका, कमला नदीका कारण कमलामाई र दुधौली नगरपालिका, चदाहा नदीका कारण तिनपाटन गाउँपालिकाका अधिकांश वडाहरु प्रभावित छन् । सुनकोशी नदीमा आउने बाढीका कारण, नेपालथोक, मुलकोट, खाल्टे, खुर्कोट, बलेनी, ग्वाल्टार, खाङसाङलगायतका बजार क्षेत्रका नागरीकहरु त्रासमा छन् ।

प्रतिक्रिया