सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका– ६ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिने भएको छ । बुधबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा यही असार अन्तिममा वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारी भइरहेको वडा कार्यालयले जानकारी दिएको हो ।
यसका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकमध्ये ८० प्रतिशत काम सकिसकेको वडाअध्यक्ष उज्ज्वलकुमार थापाले जानकारीदिनुभयो । असार मसान्तमा आफ्नो वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारी रहेको उहाँले बताउनुभयो । वडाभित्रका २ हजार १०२ परिवारमा बालबालिकाको समग्र अवस्थाको बारेमा सर्वेक्षण गरी बालबालिकाको वस्तुस्थिति विवरण तयार गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहले बालबालिकाको आवधिक तथा वार्षिक लगानी योजना तर्जुमा कार्यान्वयनलाई सूचनामा आधारित, व्यवस्थित, नतिजामूलक, बाल सहभागितामूलक र प्रभावकारी बनाउन बालबालिकाको वस्तुस्थिति विवरणले वडा तथा अन्य विकास प्रदायक संस्थालाई महत्त्वपूर्ण आधार प्रदान गर्ने उहाँको भनाइ छ ।
वडामा असार मसान्त अगावै बालबालिकाका शिक्षा, स्वास्थ्य, बालहिंसा तथा बालश्रमको विषयवस्तु हाम्रो समाजमा विद्यमान भए सूचना तथा समाचार सम्प्रेषण गरी सहयोग गर्न वडाअध्यक्ष थापाले आग्रह गर्नुभयो ।
सो वडालाई बालमैत्री घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपाल, मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल सिन्धुलीको साझेदारी, कमलामाई नगरपालिकाको समन्वयमा लामो समयदेखि काम गर्दै आएको वडाले जानकारी दिएको छ । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि र सञ्चारकर्मीले असार मसान्तमा बालमैत्री वडा घोषणा गर्न आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभयो । कमलामाई–६ बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने जिल्लाकै पाँचौ वडा बन्नेछ । यसअघि तीनपाटनका ३ वटा र फिक्कलको १ वडालाई बालमैत्री घोषणा गरिसकिएको छ ।