सिन्धुली– सिन्धुलीमा बुधबार ढुंगा, माटोसहितको लेदोले ट्रक पुरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा पहिरो खस्दा ट्रक पुरिएको हो । बुधबार बिहान एक्कासि ढुंगा र माटोसहित लेदोको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।

ट्रक पुरिएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) अनिल खड्काले बताउनुभयो । ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेको डिएसपी खड्काले जानकारी दिनुभयो । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर बुधबार बिहानदेखि नै पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले बताउनुभयो । सोही मार्गअन्तर्गत वडा नम्बर–६ को अक्करे भीर, कडुले र फिक्कल गाउँपालिका वडा नम्बर २ स्थिा सुम्नामबेसीमा समेत लेदो माटो खसेर सडक अवरुद्ध बनेको छ ।