बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मुसहर बस्तिमा सिन्धुली प्रहरी

मंगलवार , आषाढ ५, २०८१

सिन्धुली, – सिन्धुलीको दुधौली नगरपालिका ११ पत्रिंगाको मुसहर बस्तिमा नेपाल प्रहरीले सचेतना कार्यक्रम संचालन गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाको आयोजनामा सोमवार अल्पसंख्यकसँग नेपाल प्रहरी सचेतना कार्यक्रममा संचालन गरेको हो ।

कार्यक्रममा मुसहर समुदायहरुले आफूले भोग्दै आएको पीडा र वेदना दिल खोलेर सुनाए । २१ वर्षीया सविता सदाले मदिरा र गाँजा सेवनले एकीकृत नमुना बस्ती दुर्गन्धित हुँदै गएको बताउनुभयो । अल्पसंख्यकलाइ राज्यले दिने सामाजिक सुरक्षा भत्ताको रकम बाट मदिरा सेवन गर्ने बढ्दै गएकाले झैझगडाले वस्तीमा तनाव सिर्जना गरेको पीडा सविताले सुनाउनुभयो । उहाँले भन्नुभयो,“एसपी सा’ब मदिरा र गाँजाको कुलतबाट मुसहर समुदायलाई अलग्याइदिनु प¥यो ।”

६४ वर्षीय शुक्र सदाले बस्ती बनाइदिएर ठुलो गुन लगाएको सरकारले खानेपानी लिन एक घण्टा हिंडेर कमला किनार पुग्नुपर्ने बाध्यता हटाइदिए ठुलो राहत पुग्ने बताउनुभयो । एकीकृत नमुना बस्तीमा बाहिरका मान्छे आएर दुःख दिने गरेको, मिटर व्याज मौलाएको, बालबिवाह बढेको, विद्यालय टाढा भएको, खानेपानी असुविधा, रोजगारीको अभाव जस्ता आफ्ना दैनिकी समस्याहरुका चाङ प्रहरी टोली समक्ष मुसहर समुदायले राखेका थिए ।

सचेतना कार्यक्रममा जिल्ला प्रहरी सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले गस्ती बढाएर कुलतलाइ न्यूनीकरण गर्ने तथा सरोकारवाला निकायलाई मुसहर समुदायको अभाव जानकारी गराउने आश्वासन दिनुभयो । कार्यक्रममा स्टेशनरी तथा खाजा बितरण गरिएको थियो ।

चारवर्ष अघि वाग्मती प्रदेस सरकारले दुधौली नगरपालिका ११ पत्रिंगामा एकिकृत वस्ती निर्माण गरेको थियो । एकिकृत वस्तीमा मुसहर समुदायका ४७ घरपरिवार रहेका छन् ।

प्रतिक्रिया