शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका दुईजना प्रहरी उत्कृष्ठ घोषित

मंगलवार , आषाढ ५, २०८१

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुईजना प्रहरीलाई उत्कृष्ठ प्रहरी घोषित गरिएको छ । प्रहरी सहायक हवल्दार अशोक घिमिरे र प्रहरी जवान सागर नेपालीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरीहरु मध्ये जेठ महिनाकै उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

अस्थायी प्रहरी पोष्ट हैवारबेसीमा कार्यरत घिमिरे र इलाका प्रहरी कार्यालय खुर्कोटमा कार्यरत नेपालीले सांगठनिक नीति निर्देशन बमोजिम दिईएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दारी, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगवाट सम्पादन गरेको भन्दै उत्कृष्ठ प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) गोविन्दराज काफ्लेले बताउनुभयो । गत जेठ १३ गते जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं ७ स्थित लौकुनमा प्रहरीद्वयले १८ लाख रुपैँया ठगि फरार भएका तीनजनालाई नियन्त्रणमा लिन सफल भएका थिए ।

अपरिचित व्यक्तिहरुको समूहले अमेरिकन डलरको लोभ देखाई डलरको पोको भनि २० रुपैँयाका नोटहरु तथा सादा कागजका टुक्राहरु झुक्याई इलामको इलाम नगरपालिका वडा नम्बर १ का ४४ वर्षिय राजु गौतमको साथमा रहेको १८ लाख नेपाली रुपैँया ठगि फरार भएका थिए । सूचनाको आधारमा तत्काल खटी गई उक्त घटनामा संलग्न व्यक्तिहरुलाई ठगी लगेको रकमसहित प्रहरी सहायक हवल्दार घिमिरे र प्रहरी जवान नेपालीले नियन्त्रणमा लिन सफल भएकोले जेठ महिनाको उत्कृष्ठ प्रहरी घोषित गरिएको एसपी काफ्लेले बताउनुभयो । प्रहरी संगठनको छवीलाई उच्च राख्न प्रशंसनिय कार्य गरेको हुँदा उक्त कार्यको उच्च मुल्याङकन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहन गर्न प्रहरीद्वयलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले सम्मान गरेको एसपी काफ्लेले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया