सिन्धुली – सिन्धुलीका स्थानीय तहहरुमा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) उत्खन्न बन्द गरिएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि स्थानीय तहहरुले नदीजन्य पदार्थ उत्खन्नमा रोक लगाएको जनाएको हो । “असार १ देखि भदौ मसान्तसम्म नगरपालिका क्षेत्रभित्र रहेका नदी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न नपाइने व्यहोरा सबैमा जानकारी गराइन्छ । उत्खन्न तथा संकलन गरेको पाइएमा नियमानुसार कारबाहीका साथै जरिवाना गरिने छ” स्थानीय तहहरुद्धारा जारी सूचनामा भनिएको छ ।
जेष्ठ २९ गते फिक्कल गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भएर बग्ने सुनकोशी नदिको टटीय क्षेत्र, सुनकोशीमा मिसिने निहुरे खोला, साखर खोला, जितु खोला, चाल्ने खोला, नारिम खोला, सोखु खोला र बहादुरा खोला साथै फिक्कल गाउँपालिका वडा नम्बर १ ढोडेनी खोलाको बगर र अन्य खोला बगरबाट दहत्तरबहत्तर असार एक गते देखि भाद्र समान्त सम्म संकलन तथा उत्खनन् पूर्ण रुपमा निषेध गरिएको बताएको छ । सूचनाको अवज्ञा गर्नेलाई कानुन बमोजिम कारबाहि हुने समेत उल्लेख गरिएको छ ।
यस्तै कमलामाई नगरपालिका शुक्रबार एक सूचना जारी गर्दै नगरक्षेत्र भित्रका नदिजन्य पदार्थ उत्खन्न नगर्न आग्रह गरेको छ । “नगरपालिका भित्रका नदिजन्य पदार्थ उत्खन्न् क्षेत्रबाट असार १ गते देखि भदौँ मसान्त सम्ममा नदिजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न निषेध गरिएको हुदाँ निषेधित क्षेत्र र अवधिमा नदि, खोला तथा खहरेहरुबाट नदिजन्य पदार्थको उत्खनन् नगर्नु हुन सूचना जारी गरिएको छ ,” सूचनामा भनिएको ।
जिल्लाका अन्य पालिका पनि सूचना जारी गरि नदिजन्य पदार्थ उत्खनन् गर्न रोक लगाएका छन् । पालिकाले भाद्र मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख समन्वय अधिकारी कारसाङ्ग लामाले असार १ गतेदेखि तीन महिनासम्म कुनै पनि स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न–गराउन पाउने व्यवस्था नरहेको बताउनुभयो । “नदीजन्य पदार्थको उत्खनन्, संरक्षण, विक्री वितरण लगायतको जिम्मा स्थानीय तहकै रहेको छ” उहाँले भन्नुभयो, “स्थानीय तहहरूले सम्झौता अनुसार असार १ गतेदेखि नयाँ ठेक्का प्रक्रियाबाट अघि बढ्नुपर्ने हुन्छ ।” उहाँले जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको उत्खननको अनुगमन, नियमन लगायतको काम गर्ने बताउनुभयो ।
असार एक गते देखि नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएपनि जिल्लाका विभिन्न खोला र नदीमा अवैध तरिकाले ढुङ्गा, बालुवा र गिटी उत्खनन, संकलन र बिक्री वितरण भइरहेको स्थानियले बताउने गरेका छन् । नदीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री वितरणमा रोक लगाएपछि मूल्यमा उच्च वृद्धि भएको उपभोक्ताहरू बताउँछन् । तस्करहरूले यहिबेला मौकाको फाइदा उठाउँदै अवैध कारोवार गर्दै आएका हुन् । नदीजन्य पदार्थ ढुवानी गर्दै आएका व्यवसायी तथा प्रहरीको मिलेमतोमा नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयबासीहरू बताउँछन् । व्यवसायीहरुले रातभर नदीबाट बालुवा, ढुगां र गिटि चोरी निकासी गर्छन् । दैनिक लाखौँ रुपैयाँ राजस्व उठ्ने नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाए पनि स्थानीय प्रशासनकै मिलेमतोमा चोरी निकासीमा भइरहेको उपभोक्ताहरुको दावी छ ।