बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका स्थानीय तह बजेट निर्माणमा जुटे

आइतवार , आषाढ ३, २०८१

सिन्धुली – सिन्धुलीका नौँ स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । जिल्लाका नौँ स्थानीय तह आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त छन् । । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट निर्माणका लागि स्थानीय तहका जनप्रतिनिधिहरूले सूचना प्रकाशन गरी इमेल, फेसबुक ग्रुप, फेसबुक म्यासेज तथा लिखित रूपमा स्थानीय नागरिक बुद्धिजीवी तथा सरोकारवालाहरूबाट सुझाव माग गरेका छन् । केही स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा समुदायको भेला बोलाएर पनि सुझाव संकलन सुरु गरेका छन ।

बस्तीस्तरमा र वडा–वडामा भेला बोलाएर योजना माग कार्यक्रम सञ्चालनको तयारी भइरहेको मरिण गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तान ‐प्रख्यात)ले बताउनुभयो । स्थानीय नागरिकबाट समस्या समाधान र वुद्धिजिवीहरूबाट स्थानीय स्तरमै रोजगारी सिर्जना हुने कार्यक्रम संचालन गर्न सुझाव प्राप्त भएको उहाँले बताउनुभयो । पालिकाले क्युआरकोडबाट सल्लाह, सुझाव संकलन गरिरहेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारको बजेट निर्माणमा व्यापक जनसहभागिता हुनुपर्छ भन्ने मान्यतासहित देश, विदेशमा रहेका नागरिकलाई क्युआर कोड स्क्यान गरि सल्लाह, सुझाव दिने व्यवस्था गरेका छौँ ।” आफ्ना लागि भनेर आउने कार्यक्रम र बजेटमा प्रत्यक्षरूपमा नागरिकलाई सहभागि गराउन प्रविधिको प्रयोग गरिएको उहाँले बताउनुभयो । नेपालको संविधानले व्यवस्था गरेको समाजवादी अर्थव्यवस्थालाई व्यवहारिकरूपमा कार्यान्वयन गराउने लक्ष्यका साथ मरिण सरकारले गाउँपालिका बाहिर रहेका नागरिकबाट सुझाव संकलन गर्न क्युआर कोडलाई प्रयोगमा ल्याएको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाले बजेटको लागि नगरपालिकाको १४ वटैै वडाबाट सुझाव सङ्कलनलाई तीव्र बनाएको उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो । आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी, निस्वर्तमान अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष र स्थानीयवासिबाट राय सुझाव माग गरिएको उहाँले बताउनुभयो । आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन कार्यलाई अगाडि बढाएको उहाँको भनाई छ । नीति, बजेट तथा कार्यक्रम नगरपालिकाले ल्याउदा यहाँका स्थानीयवासिको आवश्यकता र दिगो विकास आयोजनालाई विशेष प्रथामिकतामा राखेर बजेट ल्याउनुपर्ने नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताउनुभयो । राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले बताउनुभयो ।

बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले बताउनुभयो । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सार्वजनिक सुचना मार्फत पनि सुझाव माग गरिएको उहाँको भनाइ छ । बजेट निर्माणमा आगामी आर्थिक बर्ष स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने गरी गृहकार्य गरिरहेका छन् । विगतमा सडक निर्माणको कामलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले आगामी आर्थिक बर्षमा भने स्वास्थ्य क्षेत्रको स्तरउन्ती गर्ने गरी बजेट ल्याउने बताएका छन् ।

प्रतिक्रिया