सिन्धुली – कमलामाई नगरपालिका– ५ का किसानलाई निःशुल्क बाख्रा वितरण गरिएको छ । विपन्न वर्गका किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले विहीबार उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । वडाको आर्थिक वर्ष २०८०÷०८१ मा विपन्न एकल महिला आय आर्जन तथा महिला आयआर्जन शिर्षकमा विनियोजित बजेटबाट २२ जना किसानलाई क्रस जातको बाख्रा वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
यसका लागि वडाकार्यालयले रु १÷१ लाख खर्च गरेको छ । निःशुल्क वितरण गरिएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाअध्यक्ष पुर्णबहादुर खड्काले बाख्रापालन बाट राम्रो आयआर्जन गरी उदाहरणीय बन्न किसानलाई आग्रह गर्नुभयो । “निःशुल्क पाएको बाख्राको स्याहारसुसार र हेरचाह गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ,” उहाँले भन्नुभयो । वडा नम्बर ५ का विभिन्न टोलहरु बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उहाँले व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नो घरमा पालेको हुनुपर्ने सर्त राखिएको छ । समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयले कारवाही समेत गर्ने जानकारी दिनुभयो । वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् ।