सिन्धुली — फिक्कल गाउँपालिका वडा नं ५ लाई बुधबार ‘बालमैत्री’ वडा घोषणा गरेको छ । बुधवार एक कार्यक्रम गर्दै ‘बालमैत्री’ वडा घोषणा गरिएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्कीला, मापदण्ड र ५१ वटा सूचक पूरा गरेकाले जिल्लाका ७९ वडामध्येमा फिक्कलको वडा नं ५ चौथोे भएको हो । यसअघि तीनपाटन गाउँपालिकाको वडा नं ५ , १० र दुधौली नगरपालिका १ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको थियो । बालमैत्री वडा घोषण हुनका लागि वडामा पालिकाले अनुगमन र पालिकालाई जिल्ला स्तरिय अनुगमन समितिले अनुगमन गरेपछि मात्र त्यसबाट निस्केन प्रतिवेदनले मात्र बालमैत्री वडा घोषण गर्ने गरिन्छ ।
बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता, अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्यप्रक्रिया व्यवहारमा संस्थागत गरेकाले बालमैत्री वडा घोषणा भएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो ।
स्थानीय शासन कार्यविधि २०६८ बमोजिम ३० वटा, बालमैत्री स्थानीय शासन संक्षिप्त पुस्तिकाले थप गरेको १२ वटा र गाउँपालिकाले निर्धारण गरेको बालबालिकासम्बन्धी ९ वटा सुचांक पूरा गरेकाले घोषणा भएको हो । बालमैत्री वडा घोषणा भएको सुखद् दिन भनेर विद्यालयहरुका बालबालिकाले प्लेकार्डसहित कार्यक्रममा सहभागिता जनाएका थिए । वडामा हुने हरेक गतिविधिमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न र अन्य वडाहरुलाई समेत प्रेरणा मिलोस् भनेर सोल्पाको डाँडाबाट पञ्चेबाजाले गुञ्जयमान बनाई घोषणा गरिएको वडाध्यक्ष बैकुण्ठलाल पहाडीले बताउनुभयो ।
जिल्ला समन्वय समिति र गाउँपालिकाबाट सूचांकसहित सिफारिस भएपछि चौथोे बालमैत्री वडा भएको वडाध्यक्ष पहाडीले जानकारी दिनुभयो । घोषणा कार्यक्रममा बालविवाह विरुद्ध चेतनामूलक नृत्य तथा गजल प्रस्तुत गरिएको थियो । बालबालिकामा लगानी गरे यो देश फेरि बन्छ भनेर गायकसमेत रहेका गाउँपालिका उपाध्यक्ष बरालले कार्यक्रममा गीत गाएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामाले बालबालिकालाई सुनौं र बाल सरोकारका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि हस्ताक्षर गर्नु भएको थियो ।