सिन्धुली – विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा सिन्धुलीमाढीमा भगवती बाल क्लवको आयोजनामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । ‘बालश्रम विरुद्धको हाम्रो प्रतिबद्धतामा प्रतिबद्ध रहौँ’ भन्ने मुल नाराका साथ सिन्धुलीको भगवती अंग्रेजी आवासीय मावि अन्तर्गत विस २०६४ सालमा स्थापित भगवती बाल क्लबले बुधबार बिहान जनचेतनामूलक प्रभात फेरी एवम कोण सभा गरी बालश्रम विरुद्धको दिवस भव्यताका साथ मनाएको हो ।
विद्यालय प्रांगणबाट शुरु भएको प्रभात फेरी कार्यक्रम सिन्धुलीको मुख्य बजार हुँदै कमलामाई नगरपालिकाको अगाडि लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कृष्णकुमार उप्रेतीले आफ्नो विद्यालयले बालदिवस, बालश्रम विरुद्धको दिवस लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु विद्यार्थीहरुको सक्रिय सहभागितामा मनाउँदै आएको र नेतृत्व गर्ने क्षमता अभिवृद्धिका लागि भगवती बाल क्लबका पदाधिकारी भाइबहिनीहरुलाई अग्रसर गराउँदै आएको बताउँदै बालबालिकाहरुलाई हरेक क्षेत्रबाट बालश्रम मुक्त गर्नुपर्ने, विश्वका हरेक राष्ट्रले अन्तराष्ट्रिय बालसन्धि अनुरुप कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भगवती बाल क्लबको आयोजनामा बाल क्लबका अध्यक्ष रशिक काफ्लेको अध्यक्षतामा भएको कोणसभामा विद्यालयका सहायक प्रधानाध्यापक तमिज सेल्भम, शैक्षिक निर्देशक सन्तोष श्रेष्ठलगायतको उपस्थिति थियो भने उक्त सन्दर्भमा रहेर छात्र अन्विश दाहाल तथा छात्रा सोनिका गौतमले अंग्रेजी तथा नेपाली भाषामा मन्तव्य राख्नुभएको थियो ।