बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मरिण सरकारको नविनतम प्रयोग, बजेटकालागि क्युआरबाट सुझाव संकलन

मंगलवार , जेठ १५, २०८१

सिन्धुली – चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा नविनतम कार्यक्रम ल्याएर चर्चामा रहेको सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट सहभागितामूलक बनाउन जुटेको छ । चालु आ.व. मा विवाह अघि स्नातक उत्तीर्ण गर्ने छात्रालाई एक लाख रुपैँया, कक्षा ११ मा भर्ना हुनेलाई साइकल, एकल पुरुषलाई भत्ता जस्ता नौलो र आकर्षित कार्यक्रम ल्याएको मरिण सरकारले आगामी आ.व. को बजेटलाई सहभागितामूलक बनाउन प्रविधिको प्रयोग गरेको छ ।

गाउँपालिकाले वार्षिक नीति र कार्यक्रम तथा बजेट जारी गर्नुपूर्व गाउँपालिकाभित्र रहेका आम जनतासँग व्यापक छलफल गरिरहेको छ । सहभागितामूलक लोकतन्त्रको अवधारणा अनुसार प्रत्येक वडामा जनभेला गराई राय–सुझाव संकलन गरिएको गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले बतउानुभयो । साथै, गाउँपालिकाभित्र नरहेका नागरिकलाई केन्द्रित गरेर क्युआरबाट सल्लाह, सुझाव संकलन गरिरहेको अध्यक्ष प्रख्याताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानिय सरकारको बजेट निर्माणमा व्यापक जनसहभागिता हुनुपर्छ भन्ने मान्यतासहित देश, विदेशमा रहेका नागरिकलाई क्युआर कोड स्क्यान गरि सल्लाह, सुझाव दिने व्यवस्था गरेका छौँ ।’ आफ्ना लागि भनेर आउने कार्यक्रम र बजेटमा प्रत्यक्षरूपमा नागरिकलाई सहभागि गराउन

प्रविधिको प्रयोग गरिएको प्रख्यातले बताउनुभयो । नेपालको संविधानले व्यवस्था गरेको समाजवादी अर्थव्यवस्थालाई व्यवहारिकरूपमा कार्यान्वयन गराउने लक्ष्यका साथ मरिण सरकारले गाउँपालिका बाहिर रहेका नागरिकबाट सुझाव संकलन गर्न क्युआर कोडलाई प्रयोगमा ल्याएको अध्यक्ष प्रख्यातले बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिको विशेष सक्रियतामा क्युआर प्रणाली स्थापना गरिएको हो । स्थानिय सरकार सबैभन्दा नजिकको सरकार भएकाले बजेट निर्माणमा स्थानियलाई प्रत्यक्ष संलग्न गराउन क्युआर कोड प्रयोगमा ल्याइएको दर्जिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मरिणप्रति शुभेच्छा राख्ने जोकोहिले आगामी आ.व.को बजेट निर्माणमा सहभागिता जनाउन पाउनेछन् । विदेशमा रहेका मरिणवासिले त्यहाँको विकासलाई जोडेर मरिणमा जनमुखि र विकास, समृद्धिका कार्यक्रम संचालन गर्न सुझाव दिन सक्नेछन् ।’

मरिण गाउँपालिकाले जिल्लामै पहिलो पटक क्युआर कोडबाट बजेटकोलागि सल्लाह, सुझाव संकलन गरिरहेको छ ।

उद्यमी–व्यापारी एवं लगानीकर्ताको मनोबल उच्च तुल्याउन करसम्बन्धी नीतिगत विषयमा राजस्व परामर्श समितिमा खुला बहस गर्ने प्रमुख प्रशासकिय अधिकृत दर्जिले बताउनुभयो । श्रोत अनुमान समितिले सबै तथ्य–तथ्यांक केलाएर मात्रै आगामी वर्षको आम्दानी र खर्चको अनुमान यकिन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट तर्जुमाका बखत गाउँमा गौरवका योजना, प्राथमिकता दिनुपर्ने क्षेत्र, बहुवर्षीय ठेक्काका लागि आवश्यक रकम र अनिवार्य दायित्व तर्फका बजेट एयरमार्क गरिनेछ ।” बजेट तर्जुमा गर्दा संघीय सरकारले जारी गरेको बजेट र प्रदेश सरकारबाट जारी हुने बजेटको गहन अध्ययन गरिने दर्जिले बताउनुभयो ।

नेपालको संविधान र कानुन बमोजिम संघीय सरकारको प्रत्येक वर्षको बजेट जेठ १५ गते र प्रदेश सरकारको असार १ गते जारी हुन्छ । स्थानीय तहको हकमा बजेट जारी गर्ने दिन किटानी नभए पनि असार १० गतेभित्र गर्नुपर्ने व्यवस्था छ । यस अनुसार सिन्धुलीका नौँवटै स्थानीय तहका जनप्रतिनिधिले आगामी आ.व. २०८१/८२ को बजेट निर्माणमा जुटेका छन् ।

प्रतिक्रिया