सिन्धुली –नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा आइतवार सिन्धुलीमा बिचार गोष्ठी तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरि मनाईएको छ । नेपाल प्रेस युनियन सिन्धुली शाखाले आयोजनामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भुमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलले युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
पोखरेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि प्रेस युनियन लगायत समग्र संचारकर्मी र संचारकर्ममा आबद्ध सञ्चारकर्मीहरूले ०६२/६३ ताका गरेको आन्दोलन अविष्मरणीय रहेको उल्लेख गर्नुभयो ।
प्रेसले आम नागरिकको अधिकारका लागि आवाज उठाउनुपर्ने भन्दै समाजलाई सुसूचित र प्रेरित गर्दैै सत्मार्गमा डो¥याउने काम पत्रकार र पत्रकारिता क्षेत्रको दायित्व भएको उहाँको भनाई छ । पत्रकारले पनि पत्रकारिता गर्दा मर्यादाको ख्याल गर्नुपर्ने पोखरेलको सुझाव छ ।
कमलामाई नगरपालिकाको मेयर समेत रहनु भएका पोखरेलले गलत कुरामा खबरदारी गर्ने राम्रा उदाहरणलाई प्रचार प्रसारमा मिडियाले सघाउनुपर्ने बताउनुभयो । प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारिता क्षेत्रको विकासका लागि सहयोग गर्न कमलामाई नगरपालिका सदैब तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बिचार गोष्ठीमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष कृष्णहरी घिमिरेले स्थापना दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै इन्टरनेट र डिजिटल माध्यममा आएका सबै सामग्रीलाई समाचार मान्ने र त्यसका सबै प्रेषकलाई पत्रकार मान्ने नागरिकको जमात अहिले ठुलो रहेको बताउदै यो बुझाइमा परिवर्तन ल्याउन अत्यावश्यक रहेको बताउनुभयो ।
गोष्ठीमा नेपाल प्रेस युनियन सिन्धुलीका संस्थापक अध्यक्ष राजकुमार कार्की, न्युनतम पारिश्रमिक निर्धारण समितीकि सदस्य बिमला पाण्डे, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष बिनय दाहाल, प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठ, फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरुण लामिछानेको अध्यक्षतामा आयोजित बिचार गोष्ठी कार्यक्रममा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) सिन्धुलीकी अध्यक्ष राधिका बुढाथोकीले स्वागत गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । पत्रकारिता व्यवसाय प्रजातन्त्रमामात्र फस्टाउने शास्वत सत्यलाई मध्यनजर गर्दै युनियनभित्र प्रजातन्त्रप्रति पूर्ण आस्थावान् श्रमजीवी पत्रकार आबद्ध रहन सक्ने युनियनको विधानमा उल्लेख छ ।
श्रमजीवी पत्रकारको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्देश्यले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो ।
तदर्थ समितिले २०४८ साल फागुन १५ र १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
त्यसपछि २०५१ सालमा पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशनले रमेश तुफान, पर्साको वीरगन्जमा २०५३ सालमा भएको तेस्रो महाधिवेशनले तारा बराल, २०५६ सालमा सुनसरीको इटहरीमा भएको चौथो महाधिवेशनले कुलचन्द्र वाग्ले अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।
त्यसैगरी सिरहाको लाहानमा २०६० सालमा भएको पाँचौँ महाधिवेशनले मुरारीकुमार शर्मालाई, कास्कीको पोखरामा २०६४ सालमा भएको छैठौँ महाधिवेशनले समिरजंग शाहलाई र २०६७ सालमा सुनसरीको इटहरीमा भएको सातौ महाधिवेशनले किरण पोखरेललाई केन्द्रीय अध्यक्ष चयन गरेको थियो ।
बद्री सिग्देलको अध्यक्षतामा रहेको वर्तमान कार्यसमिति भने २०७१ भदौ २१ देखि २३ गतेसम्म भएको महाधिवेशनले गठन गरेको हो ।