सिन्धुली – बागमती प्रदेशमा पहिलो पटक गृहिणी महिला सशक्तीकरण कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशको ‘गृहणी महिला सशक्तिकरण कार्यक्रम’ अन्र्तगत प्रदेशको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम अनुसार ८५ प्रतिशत बजेट र मरिण गाउँपालिकाको १५ प्रतिशत बजेटमा आयोजना गरिएको तालिमको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शनिबार उदघाटन गर्नुभएको हो ।
मन्त्री मोक्तानले बढीमुहानमा एक महिने गार्मेन्ट तालिमको उदघाटन गर्दै प्रदेशमै पहिलो पटक उक्त कार्यक्रमको सुरुवात भएको बतानुभयो । गृहिणी महिलाहरूको सशक्तीकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवं आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारले प्रदेशभरीका जिल्लामा कार्यक्रम सञ्चालनमा ल्याइएको मन्त्री मोक्ताङको भनाइ छ । “सिन्धुलीमा मात्रै ६ वटा पालिकामा यो कार्यक्रम परेका छन् । अन्त प्रक्रियागत नै छन् । तालिम सञ्चालन गर्ने मरिण पहिलो पालिका हो,” उहाँले भन्नुभयो ।
“आज पनि धेरैजसो दिदिबहिनी आत्मनिर्भर नहुँदा चुला चौका र घाँस दाउरामै सिमित छन् । पुरुष त वैदेशिक रोजगारी तथा व्यापारको लागि एउटा केन्द्रित शहरमा पुग्छन् । तर महिलाहरुलाई पारिवारि हिसाबले परिवारलाई संरक्षण, विकास गर्नुपर्ने, छोराछोरीको स्याहार्नु पर्ने दायित्व हुन्छ । त्यस्ता महिलाहरुलाई पारिवारिक काम सकेर बाँकि समयमा सिप सिकाएर आत्मनिर्भर बनाउने नै यो कार्यक्रमको उदेश्य हो,” मन्त्री मोक्तानले भन्नुभयो ।
बाहिरका बस्तु ल्याएर सिकेर व्यवसायिक गर्ने हैन गाउँमै भएका रैथाने सीप सिकेर उत्पादन लाई व्यवसायिकरण गर्ने, बजारीकरण गर्ने र आत्मनिर्भर बन्ने गरी सिप सिक्नको लागि मन्त्री मोक्तानले जोड दिनुभयो । सिप सिकेर यहीका रैथाने उत्पादनलाई जोड दिएर गाउँमै रोजगारी सिर्जना गर्नु नै सो कार्यक्रमको उदेश्य रहेको बताउँदै मन्त्री मोक्तानले मरिणले गार्मेन्ट सन्चानको लागि गृहणी महिलालाई सिप सिकाउने राम्रो सिप छनोट गरेको बताउनुभयो ।
गार्मेन्ट भन्दा बाहेक गृहणीको चाहाना अनुसार सिप प्रदान गर्न उहाँले पालिकालाई निर्देशन गर्नुभयो । सो कार्यक्रम बामगती प्रदेशको पन्च बर्षे योजना भएकोले प्रत्येक बर्ष फरक फरक सिप सिकेर सफल उद्यमी बन्न सहयोग पुग्ने उहाँले बताउनुभयो । सीप सिकेर बिचमै छोड्ने, अल्छी बन्ने , सरकारको बजेट भन्दै वेवास्ता गर्ने खालका क्रियाकलाप नगरी मेहनत,लगनशील भएर सिप सिक्न उहाँले गृहणीहरुलाई आग्रह गर्नुभयो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले ठुल्ठुला भवन, सडक,डोजरे विकासले मात्रै समाजका नागरिकको अवस्था बदलिन्छ भन्ने हैन, सामाजिक न्याय सहितको सामाजिक विकासनै आजको आवश्यकता रहेको बताउनु भयो । गृहणीलाई आर्थिक रुपमा बलियो बनाउन महिलानै त्यो ठाउँमा पुग्नु पर्छ भन्ने गतिलो उदाहरण सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दर्साउनु भएको उहाँले बताउनुभयो ।
मरिणमा विभिन्न किसिमको सिप विकासको तालिम दिएपनि उपलब्धी नदेखिएकोले अव धेरैजना लाई हैन सिमित महिलाई अर्थपुर्ण उपलब्धी देखिने गरि सिप सिकाउने योजना रहेको मोक्तानले भन्नुभयो । १ महिने सिप विकास तालिममा मरिण गाउँपालिका –५ को २५ जना गृहणीलाई सिकाइने छ । अन्य वडामा अन्य सिप विकासका तालिम दिइने अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।