सिन्धुली – सिन्धुलीमा प्रहरीलाई गोप्य सुचना दिन कार्यालय पुग्न नपर्ने भएको छ । अब क्यूआर कोड बाटै प्रहरीलाई गोप्य सूचना, गुनासो र उजुरी दिन सकिने भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पहिलोपटक प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन क्यूआर कोड प्रयोगमा ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले बताउनुभयो । “अबदेखि प्रहरी कार्यालयमा उजुरीका लागि सेवाग्राहीले क्यूआर कोड पनि प्रयोग गर्न सक्ने छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेक प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्यूआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ ।”
कार्यालयले शुक्रबारदेखि क्यूआर कोड प्रयोगमा ल्याएको हो । क्यूआर मार्फत आएको गुनासो र सूचना गोप्य राखिने एसपी काफ्लेले बताउनुभयो । “जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रवाह हुने सेवा तथा अन्य कुनै गुनासो तथा सूचना, सुझाव भएमा क्यूआर गरि राय सुझाब दिन अनुरोध गर्दछु । ति राय सुझाबलाई गहन रुपमा लिएर सम्बोधन गर्नेछौँ । क्यूआरबाट आएको सूचना तथा गुनासो सबै गोप्य रहने जानकारी गराउँछु”, प्रमुख काफ्लेले भन्नुभयो ।
प्रहरी कार्यालयमार्फत प्रदान गरिने सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्देश्यका साथ क्यूआर कोड सेवा शुरू गरिएको जिल्ला प्रहरी प्रमुख काफ्लेको भनाइ छ । “क्यूआर कोडको प्रयोगले प्रहरीको सेवालाई छिटोछरितो गर्न पनि सहज हुनेछ”, उहाँले भन्नुभयो, “सेवा प्रवाहको व्यवस्थापन, जवाफदेही, पारदर्शी बनाई नागरिक सु–सम्बन्ध एवं सुशासन कायम गर्न यसले थप सहयोग पुग्नेछ ।”
सेवाग्राहीलाई क्यूआर कोड प्रयोग गर्न कार्यालय आउँदा सहजै देखिनसक्ने ठाउँमा क्यूआर कोड टाँसिएको उहाँले बताउनुभयो । साथै, आगामी दिनमा जिल्लाका सार्वजनिक स्थलहरुमा समेत क्युआर कोड टाँस गरिने एसपी काफ्लेले बताउनुभयो । नागरिकसँग प्रहरीको सहज पहुँच विस्तारका लागि प्रविधिको प्रयोगले सहयोग पुग्ने उहाँको भनाई छ । “विशेषगरी नागरिकका गुनासो, समस्या र रचनात्मक सुझाव संकलन गर्न सो कोड प्रयोग गरिएको हो”, प्रमुख काफ्लेले भन्नुभयो, “यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए÷नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।” उहाँले थपजानकारी लिनकालागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्र्र्र्र्र्र्र्र्र्र्र्रवक्ताको नम्बर ९८५४०६५५५६ मा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
जिल्लामा पहिलो पटक नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन । उनीहरुलाई कुनै गुनासो राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन । उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने छ । त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रमुख काफ्लेले बताउनुभयो । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ । क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने जनाइएको छ ।