सिन्धुली – नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटीले तीनपाटन गाउँपालिकालाई १५ दिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार कमिटिले गाउँपालिकाको आम जनजिविकासँग जोडिएको विषयमा पटकपटक ध्यानाकर्षण गराइएको स्मरण गराएको हो ।
“विकास निर्माण, सुशासन सामाजिक न्याय पारदर्शिता महंगी राजश्व चुहावट अनियमितता भ्रष्टाचार, शान्ति सुव्यवस्था शिक्षा स्वास्थ्य लगायत राजनीतिक र व्यक्तिगत रुपमा शिक्षक तथा कर्मचारीहरुमाथि प्रतिशोध एवं पूर्वाग्रह साधेर गरिएको विभिन्न ज्यादतीहरु आदि विषयमा तीनपाटन गाउँपालिका स्थानीय सरकारले प्रवाह गर्ने सेवा सुविधाबारेमा हाम्रो पार्टीले पटक पटक ज्ञापनपत्र र ध्यानाकर्षण पत्र पटकपटक सजग र सचेत गराउँदै आएको कुरा दोहा¥याउन चाहान्छौं” ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
एमालेको रचनात्मक प्रतिपक्षको भूमिकालाई बेवास्ता गर्दै संविधानले प्रत्यायोजन गरेको नागरिक अधिकारको बर्खिलाप हुनेगरी स्थानीय सरकारले कर्तव्य बिर्सदै गएको एमालेको ठहर छ । गाउँपालिकाले गरेका निर्णयमा पुर्नविचार गरी १५ दिनभित्र सच्याउन एमालेले अल्टिमेटक दिएको छ । सूचना पाउने हकको सुनिश्चितता, गाउँपालिकालाई प्राप्त रकम विकास निर्माणमा मात्र खर्च गर्नुपर्ने लगायत प्रतिपक्षका जायज मागलाई बेवास्ता गरी अगाडि बढ्दै गए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि एमालेले दिएको छ ।