बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

बिपि राजमार्गको आकस्मिक सूचना प्रणाली बन्द

बुधवार , जेठ ९, २०८१

सिन्धुली– बिपि राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द भएको छ । दुइ वर्ष देखि सूचना प्रणाली मर्मत नहुदाँ बन्द अवस्थामा रहेको हो । मनसुन सुरु हुनै लाग्दा सूचना प्रणालीको उपकरण मर्मत नहुदाँ यात्रुले सूचना पाउन सकेका छैनन् ।

राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालीन मौसमी अवस्थाबारे जानकारी दिन नौ वर्षअघि सिन्धुलीको दुई स्थान सहित पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । बिपी राजमार्गलक्षित सङ्घीय राजधानी काठमाडौँबाट अरनिको राजमार्ग प्रवेश क्षेत्र कोटेश्वरमा समेत सूचना बोर्ड राखिएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फ बिपी राजमार्ग सुरु हुन्छ । राजमार्गमा वर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेभसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेभसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहने सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।

विभागका अनुसार पाँचै स्थानमा डिजिटल सूचना बोर्ड राखिएको छ । राजमार्गको अवस्थाबारे मोबाइल तथा वेभसाइटमा जानकारी लिनसक्ने गरी सात वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचनाप्रविधिका भौतिक पूर्वाधार लगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको हो । यतिमात्र होइन, वेभसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो ।

त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि स्थापित उप–आयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो । एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेभसाइट र ईआइएस्लाई इञ्जिनियररिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाउँदै आएको छ ।

यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रुपमा वर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडौं थापाथलीस्थित उप–आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालय तथा सिन्धुलीमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।

उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस् मोडेममार्फत मोबाइल, वेभसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबीसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार) मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको छ ।

गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि मर्मत हुन नसकेको सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार गत वर्ष सडक विभागसँग मर्मतका लागि बजेट प्रस्ताव गरे पनि प्राप्त हुन सकेन । सूचना प्रणाली ‘बोर्ड’मा सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ हुने गर्दथ्यो । सूचनाका आधारमा यात्रुलगायत सडक प्रयोगकर्ताले यात्रा गर्दथे ।

धुलिखेलमा रहेको सूचना बोर्डमा मौसमअनुसार सूचना दिने प्रणाली मर्मत गरी अद्यावधिक गर्न सकिएको छैन । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्ट टिमलाई अध्ययनको स्वीकृत दिएको थियो । जाइकाको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत हुन नसकेको हो । यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफल अब्जरभेसन सिस्टम’ले निरन्तर वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्ता केन्द्र काठमाडौँ थापाथलीस्थित उप–आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा रहने व्यवस्था गरिएको थियो ।

उक्त प्रणालीअन्तर्गत ‘डाटा सेन्टर’मा निरन्तर आउने प्रकोपका विवरणहरू ‘जिपिआरएस् मोडेम’मार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ ‘अपडेट’ हुन्छ । यी विवरणहरू ‘एलइडी डिस्प्ले’युक्त बोर्डमा नेपाली र अंगे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबीसै घण्टा विवरण ‘अपडेट’मा ‘लोडसेडिङ’ले समस्या हुनसक्ने भएकाले सबै केन्द्रमा सौर्यशक्ति (सोलार) समेत जडान गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट बर्दिबाससम्म एक सय ६० किलोमिटर सडक विसं २०५४ सालदेखि विस्तार गरिएको थियो ।

प्रतिक्रिया