बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बिदाको दिन सरकारी गाडीको दुरुपयोग बढ्दो

शनिवार , जेठ ५, २०८१

सिन्धुली– सरकारले सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारीसाधन चलाउन रोक लगाए पनि त्यसको दुरुपयोग रोकिएको छैन । गृह मन्त्रालयले बारम्बार सरकारी गाडी दुरुपयोग नगर्न निर्देशन दिइहरदा पनि सरकारी कर्मचारी तथा अधिकारीहरूले व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन् ।

पहिलेको तुलनामा सरकारी गाडीको दुरुपयोग केही कम भए पनि भित्री सडकको प्रयोग गरेर सरकारी गाडी व्यक्तिगत कामका लागि दुरुपयोग गर्ने प्रवृत्ति नहटेको सिन्धुली प्रहरीले बताएको छ । ‘बिदाको दिन सडकमा जथाभावी सरकारी गाडी भेटिन्न, तर केहीले सरकारी गाडी दुरुपयोग पनि गरेका छन् । त्यस्तो भेटिएमा ट्राफिक प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल खड्काले भन्नुभयो, ‘कहीँकतै सरकारी गाडीको दुरुपयोग भएको भेटिएमा ट्राफिक प्रहरीलाई जानकारी गराउनुहोला ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार वा अन्य बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेलाई प्रहरीले ठाउँठाउँमा रोकेर कारबाही गर्छ । तर, भित्री सडकहरूको प्रयोग गरेर सरकारी गाडी दुरुपयोग भइरहँदा त्यसमा कारबाही गर्न नसकिएको ट्राफिक प्रहरी प्रमुय यज्ञ पलले बताउनुभयो । ‘सरकारी गाडीको दुरुपयोग रोकिएको छैन, ठाउँठाउँमा ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले नाका र मुख्य सडकमा कडाइ गरेका छौँ ।’ उहाँका अनुसार भित्री सडकमा ट्राफिक परिचालन गर्न पर्याप्त जनशक्ति छैन ।

सार्वजनिक बिदा वा शनिबार काठमाडौँ छिर्ने नाकाहरूमा सरकारी नम्बर प्लेटका कार भेटिने गरेका छन् । ‘बिदा वा शनिबार पास नलिई हिँड्ने सरकारी नम्बर प्लेटका गाडीलाई कारबाही गर्ने गरेका छौँ, तर अन्य चेकजाँच पनि गर्नुपर्ने भएकाले यसमा कडाइ गर्न सकिरहेका छैनौँ,’ ट्राफिक प्रमुख पलले भन्नुभयो ।

सरकारी गाडीमाथि के कारबाही हुन्छ ?

दुरुपयोग भएका सरकारी गाडी ट्राफिक प्रहरीले प्रहरी नियन्त्रणमा लिएर नजिकको ट्रापिक तथा प्रहरी युनिटमा होल्ड गर्छ । छुट्टै चालक भएको सरकारी अधिकारीको गाडीमा चालकलाई कारबाही गर्दैन । गाडीको चाबी नियन्त्रणमा लिएर होल्ड गर्छ । स्वयं सरकारी अधिकारीले हाँकेका छन् भने ट्राफिकले लाइसेन्स माग्ने वा होल्ड गर्ने काम गर्छ ।

तर, चिट काट्न वा अन्य ठूला कारबाही भने ट्राफिकले गर्दैन । दुरुपयोग भएको ठहर भएपछि होल्ड गरेर कार्यालय खुलेको दिन जिम्मा लगाइन्छ । त्यसमा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर गुडाएको भेटिएमा ट्राफिकले कारबाही गर्दैन । तर, पास नलिई चलाएको पाएमा गाडी रोकाएर होल्ड गराइन्छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारी कर्मचारीले आ–आफ्ना परिवार तथा आफन्त छाड्न जाने, कुनै व्यक्तिगत काममा निस्कनेजस्ता सवारीसाधनलाई कारबाही हुन्छ ।

‘अनुमति नलिई सरकारी गाडी दुरुपयोग गर्न पाइन्न’

बिदाको दिन सरकारी गाडीको दुरुपयोग बढेको खबर आफूले प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत दाहालले बताउनुभयो । जिल्ला प्रशासनबाट पास नलिई बिदाको दिन सरकारी गाडी प्रयोग गर्न नपाइने दाहालले बताउनुभाये । ‘सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्न पाइन्न,’ उहाँले भन्नुभयो, ‘यदि प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्छ ।’

ले भन्नुभयो, ‘यदि प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्छ ।’

प्रतिक्रिया