सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बुधबार पत्रकारहरूसँग भेटघाट र अन्तरक्रिया गर्नु भएको छ । जिल्लाको समसामयिक अवस्था र जिल्लाका समस्याहरूबारे पहिचान गर्न उहाँले पत्रकारहरूसँग अन्तरक्रिया गर्नुभएको हो ।
पत्रकारसँगको भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो “प्रहरी कार्यालय मातहतका केही प्रहरी युनिट र केही क्षेत्रमा आफूले अवलोकन पश्चात् मैले तपाईँहरूसँग भेटघाट कार्यक्रम राखेको हुँ, यस क्रममा मैले जिल्लामा देखिएका केही समस्याहरू नोट गरेको छु ।” म अहिले प्रहरी संगठन अन्तर्गत जिल्लामा आन्तरिक अनुगमनमा लागेको छु उहाँले भन्नुभयो ।
अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मूल दायित्व भएको बताउँदै प्रहरीको इमान्दारीता र व्यावसायिकताले शान्ति सुरक्षा मजबुत हुने बताउनुभयो । प्रहरीले इमान्दारिता पूर्वक व्यावसायिक हिसाबले जिम्मेवारी बहन गर्नु पर्नेमा जोड दिनुभयो । म राम्रो गर्न नसके पनि नराम्रो गर्दिन उहाँले भन्नुभयो “जिल्लामा लागु औषधको प्रयोग र ओसार प्रसार, गाँजाको खेती, सवारी दुर्घटना, अवैध रूपमा प्राकृतिक उत्खनन, अवैध काठ तस्करी, कर छली, लगायतका समस्याहरू रहेका रहेछन् ।” म दिन तोक्दिन तर काम गर्दै जाँदा यी समस्याहरू काम गर्दै जानेछु उहाँले भन्नुभयो ।
नेपाल प्रहरी नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था बहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपंक्तिमा रहेर कर्तव्य निष्ठ रहँदै आएको बताउँदै उहाँले प्रहरीलाई इमानदार बन्न र व्यावसायिक हिसाबले आफूले पाएको जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो ।