बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

हरिहरपुगढीमा पानीको हाहाकारः घण्टौ पालो कुरेर पानी भर्न बाध्य

बिहिवार , जेठ ३, २०८१

सिन्धुली – सिन्धुलीको हरिहरपुगढी गाउँपालिका २ बकफरकी निरुमायाँ तामाङ्ग खानेपानीको हाहाकार भएको देखेर दिक्क हुनुभएको छ । घर नजिकको धारामा पानी आउन छाडेपछि तामाङ्ग झण्डै एक घण्टा हिडेर पानी लिन पुग्ने गरेको गुनासो गर्नुहुन्छ । “‘घर नजिकै धारा छ तर पानी नआएको एक महिनै हुन लागि सक्यो । जरुवा पानी लिन जान्छौँ । यहाँ घरबाट पानी लिन आउन जान गरि झण्डै एक घण्टा जस्तो लाग्छ । त्यहि नि पालो कुर्नु पर्छ, ” उहाँले भन्नुभयो ।

खानेपानीको मुहाननै सुकेपछि बकफरका स्थानिय घण्टौँ लगाएर खोला र सुक्न बाँकी रहेका मुहानबाट खानेपानी ल्याउन बाध्य भएका छन् । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिरहेका छन् । वर्षौंदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कदै गएको हो ।

वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय बासिन्दा काकाकुल बन्ने अवस्था रहेको बकफरका सुवास तामाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो,“ पानी नहुदाँ हामी त काकाकुल बन्ने भयौँ । धारामा पानी कहिले देखि आउने पत्तो छैन । पानीको मुहानै सुक्न थालेको छ ।”

गर्मी मौसम शुरु हुनासाथ जिल्लाको चुरे क्षेत्रका स्थानीय सबैजसोका इनार समेत सुक्ने गरेका छन् । एकादुइको घरमा भएको इनारमा आउने पानीले झगडा र भनाभन समेत निम्त्याउने गरेको छ । धेरै पटक पानी भर्न जाँदा वचन लगाउने गरेको गृहणीहरुको दुःखेसो छ । गाग्री लिएर इनार नसुकेको घरमा पानी माग्न जादा वचन सहनु परेको स्थानिय सविता कार्मीले सुनाउनुभयो । उहाँले भन्नुभयो “ कति माग्न आएको हाम्रो पनि सुक्न लाग्यो भन्छन्, अनि कति सहनु भनेर मध्ये रातमा पानी खोज्न भौंतारिनु परेको छ ।” पानीको हाहाकार भएपछि हरिहरपुगढी, कमलाखोंज र मरिण क्षेत्रको अधिकांस स्थानमा घरका दुइजनाको काम नै खानेपानी संकलन गर्ने हुन्छ ।

घरका धारा र इनार सुकेपछि कमला नदी मरिणखोलाका किनारमा जताततै खानेपानीका लागि स्थानीयले अस्थायी कुवा बनाउने गरेका छन् । कुवाको पानी धमिलो हुने गरेको छ । धारा, इनारमा पानी नहुने्, नदी किनारमा कुवा बनाएर पानी खाने गरेका छौं, स्थानिय रत्न लामाले भन्नुभयो,“ पानी लिनका लागि कम्तिमा दुई घण्टा लाग्छैं, त्यो पनि धमिलो हुन्छ ।” धाराको पानी त हिउद महिना लाग्नासाथ वन्द हुन्छ उहाँले थप्नु भयो ।

कुवामा पानी सफा हुन समय लाग्ने भएकाले धमिलो ने लिएर आउने र घरमा ल्याएर संग्लो बनाउने गरेको उहाँले सुनाउनुभयो । गाउँका सबैले एउटै कुवा प्रयोग गर्दा र चौपायालाइ समेत पानी खुवाँउदा धमिलो हुने गरेको उहाँ बताउनुहुन्छ । घर अगाडि धारा देखिन्छन्, महिनौ हुनलागि सक्यो पानी आउने हैन्, पाहुनलाइ समेत पानी खाउँ भन्न गा¥हो छ, उहाँले आफ्नो पीडा पोख्नु भयो ।

दुधौली नगरपालिकाको हर्षही, लदाभिर, दुधौली, निपाने, सिर्थौली, कमलामाइ नगरपालिकाको रानीवास, चन्दनपुर, काउछे, भिमान, तिनतले, मरिण गाउँपालिकाको ४ वडा, र हरिहरपुरगढी गाउँपालिकाको चारवडा चुरे क्षेत्रमा पर्दछ । चुरे विनासले पानीको अभाव त छदैछ, साथसाथै उव्जनी हुने जमिन समेत नासिदै गएको छ ।

प्रतिक्रिया