सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेबासको कमला सप्लायर्समा अखाद्य वस्तु फेला परेको छ । जिल्ला स्तरीय अनुगमन समितिले सोमबार सप्लायर्समा म्याद सकिएको सामाग्री जफत गरि नष्ट गरेको हो ।
म्याद गुज्रेका २ सय ५० एमएलको पेय पदार्थ (कोकाकोला) १ हजार ७ सय ७६ वटा र चामल, चिउरा जस्ता अन्य खाद्यन्न सामाग्री जफत गरि नष्ट गरेको प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिनुभयो । उहाँका अनुसार १ लाख ६७ हजार ८ सय ५० रुपैयाँ बराबरको म्याद गुज्रेका सामाग्री जफत गरि नष्टि गरिएको हो । उक्त सप्लायर्सका सबै गोदाममा समितिले एकैपटक अनुगमन गरेको थियो । राती अवेर सम्म समितिका सदस्यले अनुगमन गरेको प्रजिअ खनालले बताउनुभयो ।

गत साउनमा पनि जिल्ला स्तरीय अनुगमन समितिले सोहि कमला सप्लायर्समा घुन लागेको चामल रिप्याकेजिङ गरि विक्री गरेको भेटेको थियो । अखाद्य चामल विक्री गरेको भन्दै समितिले सप्लायर्समा ताला समेत लगाएको थियो । कमला सप्लायर्सले घुन लागेको चामलको बोरा बिगारेर रिप्याकेजिङ् कार्य गर्न लागेको र बेचेको भन्ने गुनासो आएपछि जिल्ला स्तरीय बजार अनुगमन समितिले अनुगमन गरि सप्लायर्समा तालाबन्दी गरेको हो । अनुगमनका क्रममा चामलको बोरामा घुन भेटिनुका साथै गोल्डेन फ्लेभर ब्राण्डका चामलमध्ये २० बोरा चामलको प्याकेट खोलेको भेटेको थियो । अनुगमनका क्रममा खोलिएको चामल सहित उक्त ब्रान्डको २५ केजीका १२२ बोरा चामल शिल गरिएको थियो । खोलिएका अधिकांश बोराको चामल संकलन गरी खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले नमुना परीक्षणका खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौडामा पठाएको थियो । उक्त चामल खानका लागि अनुकुल रहेको प्रतिवेदन आएपछि ताला खोलिएको हो । उक्त अनुगमनमा सहभागि एक सदस्यले निष्पक्ष छानविन नभएकोमा आश्चर्य प्रकट गरे । उनले भने, “घुन लागेको चामल कसरी खान योग्य भयो ? छक्क परेको छु ।”
कमला सप्लायर्स सिन्धुलीकै बढी व्यापार हुने डिलरका रुपमा स्थापित छ । कोभिडको समयमा अनुगमन समितिले सो सप्लायर्समा १२ करोडको खाद्यन्न मौजाद रहेको फेला पारेको थियो । अनुगमन समितिले घुन लागेको चामल भेटेपनि खाद्यान्नको विलविजक नभेटिएको भन्दै थोरै सजायमै सप्लायर्सलाई उन्मुक्ति दियो । सप्लायर्सका संचालक जयकुमार दासलाई चामलको खरिद विल नभेटिएको भन्दै १५ हजार रुपैंया मात्रै जरिवाना गरेको थियो ।

बारम्बार उक्त सप्लायर्समा म्याद सकिएको खाद्य सामाग्री विक्री भइरहेको अनुगमन समितिले भेटेपनि सप्लायर्सले अटेर गरेर म्याद सकिएको सामान विक्री गरिरहेको छ । यता नियामककारी निकायले भने एकअर्कोलाई दोषारोपण गर्दै पन्छिने गरेका छन् । अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कर कार्यालय, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय लगायत निजि तथा गैरसरकारी संघसंस्थाका सदस्य रहने व्यवस्था छ । समितिका सदस्यहरु विचको घनिष्टता वा विवादका कारण उपभोक्ता भने सधैँ कोपभाजनमा परेका छन् ।
मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका चामल, चिउरा, पेय पदार्थ लगायतका खाद्य सामाग्री बिक्री भइरहेको उपझोक्ताले गुनासो गरेका छन् । कमलामाई नगरपालिका ४ का एक स्थानियले भने, “बाहिर ओर्जीनल देखिएपनि भित्र सामान अर्कै हुन्छ । सस्तो पाउने भन्दै केहि दिन अगाडि मैले पनि त्यहाँबाट चामल किनेको थिए । सिल गरेको बोराको चामल भित्र घुनैघुन भेटे ।” सदरमुकाममै उपभोक्ता ठगिदा ग्रामिण क्षेत्रमा झनै उभोक्ताहरु सक्कली भन्दै नक्कली सामाग्री उपभोग गर्न बाध्य भएको देखिन्छ ।