बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

गर्मि छल्न सिन्धुलीगढी

मंगलवार , जेठ १, २०८१

सिन्धुली– तराईको गर्मी छल्न पर्यटक सिन्धुली गढी उक्लने गरेका छन् । गर्मी मौसममा पनि यहाँ जाडो हुने गर्छ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यको मज्जा लिन चाहनेका लागि सिन्धुलीगढी आकर्षक गन्तव्य बनिरहेको छ ।

नागबेली सडकको मज्जा लिन तराईबाट सयौँ सवारी साधनमा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । वनभोज तथा घुमघामका लागि गढी रोजाइको स्थल बन्दै गएको हो गर्मीयाममा चिसोको मज्जा लिन सयौंको संख्यामा तराई क्षेत्र र भारतबाट पर्यटक आउने गरेका हुन् । कमलामाई नगरपालिका ३ का वडाध्यक्ष खड्गप्रसाद चौलागाईले भन्नुभयो, ‘चिसो मौसममा भन्दा अहिले यहाँ आउनेको संख्यामा वृद्धि भएको छ । उहाँका अनुसार विश्वमा साम्राज्य फैलाएको शक्तिशाली राष्ट्रलाई नेपालले युद्धमा पराजित गरेको स्थानबारे जान्न पनि धेरै आउँछन् ।

यहाँ आउने पर्यटक मौसम र प्राकृतिक सौन्दर्यका कारण मोहित हुने गरेका छन् । जाडोमा पारिलो धाम लाग्ने र गर्मी महिनामा हुस्सु लागेर शीतल हुने गढी क्षेत्रको विषेशता हो । ‘यहाँ आएपछिको आनन्द वर्णन गरी साध्यै छैन,’ भारतको बिहारबाट आउनुभएका सित्तल ठाकुरले भन्नुभयो, ‘भारतमा चर्को गर्मी छ, गढी क्षेत्रमा त जाडो भयो ।’ गौरी शंकर हिमालसमेत देखिने भएकाले गढी क्षेत्रमा आउने जोसुकै पनि तस्बिर खिच्नमै व्यस्त हुन्छ । बीपी राजमार्गको नागबेली सडक हुँदै सिन्धुलीगढी जान सकिन्छ । राजमार्गको सोलासम्म सवारी साधनमा गएर पैदलै वा साना गाडीमा पनि गढी पुग्न सकिन्छ ।

विसं १८२४ को कात्तिक २४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको थियो । नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाई बंसु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको थियो । सिन्धुलीगढीमा रहेको सानोगढी, पौवागढी, इनार, तोप हान्ने प्वाललाई पुनर्निर्माण गरिएको हो । ‘गोर्खाली सेनाले आक्रमण गरेर मात्र नभई अरिंगालका गोला, अल्लो, सिस्नुलगायतको समेत मद्दत लिएको इतिहास पाइन्छ,’ सिन्धुलीगढी क्षेत्रका अन्वेषणकर्ता सागरकुमार ढकालले भन्नुभयो । गढी परिसरमा धार्मिक पर्यटकका लागि सिद्धबाबाको मन्दिरसमेत छ ।

मनमोहक दृश्यहरु देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् । तराईमा बढेको तातो गर्मी छल्न अहिले तराईका जिल्ला तथा भारतका उत्तर प्रदेश, विहार विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेका छन् । तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउदा घुम्न आउने पर्यटकहरु पनि प्रफुल्लित हुने गरेका छन् । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी वनभोज स्थलको रुपमा पनि विकसित हँुदै गएको छ । सिन्धुलीगढी चिसो र सितलताकालागि रमणिय ठाउँ भएकाले पर्यटकको चहलपहल अहिले बढेको छ ।

देशभर तापक्रम बढिरहदा समेत सिन्धुलीगढीमा चिसो मौसमको अनुभुति गर्न सकिन्छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट २० किलोमिटर उत्तरतर्फ रहेको सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको अगमन बढेको हो । गर्मि भुलाउन र प्राकृतिक सौन्दर्यताको मज्जा लिन आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकिय हब सिन्धुलीगढी भएको छ । पहिलेकै स्वरूपमा सिन्धुलीगढी आएपछि गर्मि भुलाउन र इतिहास बुझ्न यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ । सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्रहालय निर्माण भई संचालनमा आएपछि झण्डै तीन लाख बढि पर्यटकले अवलोकन गरिसकेका छन् ।

प्रतिक्रिया