बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको वनमा लागेको आगो वर्षाले निभायो

सोमवार , बैशाख ३१, २०८१

सिन्धुली – सिन्धुलीको सामुदायीक वनमा लागेको डढेलो वर्षाले निभाएको छ । जिल्लाका सामुदायीक वनमा लागेको भीषण डढेलो मंगलबार साझ परेको वर्षाले निभाएको हो । वनका कर्मचारी, प्रहरी साथै स्थानीयले निभाउने प्रयास गर्दा पनि नसकिएपछि छाडिएको डढेलो भारी वर्षाले निभाएको स्थानिय मिना लामाले बताउनुभयो ।

सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको थियो । वर्षाले वनमा लागेको डढेलो पुर्णरुपमा निभाएको स्थानिय हरिबहादुर विकले बताउनुभयो । “तीन दिन अगाडि वनमा लागेको डढेलोको रापले घरमा बस्न नस्कने भएका थियौँ, डढेलो सल्केर घरमै आउने होकि भन्ने डर पनि थियो । पानीले परेर धेरै राहत भएको छ ,” उहाँले भन्नुभयो ।

फागुनदेखि सुरू भएको डढेलो चैत महिनापछि ह्वात्तै बढेको थियो । जिल्लमा बैशाखको पहिलो हप्तामा मात्रै आगलागीका दैनिक घटना घट्ने गरेको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो । यस वर्ष सिन्धुलीमा चार हजार बढी हेक्टर भन्दा बढि क्षेत्रफलमा आगलागी भएको छ । डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिणको तथ्यांक अनुसार जिल्लाको नौँ पालिकाको चार हजार तीन सय ८० हेक्टर वनमा डढेलो लागेको हो । नौ स्थानिय तह मध्ये सबै भन्दा बढी तीनपाटन गाउँपालिकाको जंगलमा डढलो लागेको छ । तीनपाटनमा २ हजार १ सय १ हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो लागेको छ । बुधबार र बिहीबार मध्य र पूर्व क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको छ । जसले अनियन्त्रित हुन थालेको डढेलो निभाइदिएको छ ।

यसैबीच प्रि–मनसुन सुरू भएलगत्तैको वर्षाले कृषकलाई पनि राहत पुगेको छ । हाल मकै छर्ने बेला भएको छ । जिल्लामा लगाइका गहुँ, जौ, मकै र तेलहन बालीलाई पनि यसले राहत दिइको कृषकले बताएका छन् । सिन्धुलीको हरिहरपूरगढीमा पछिल्लो एक घन्टामा २६.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया