बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा झण्डै सात करोडको लगानीमा अस्पताल निर्माण शुरु

शनिवार , बैशाख २२, २०८१

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । शुक्रबार गाउँपालिकाको ग्वाल्टार हेल्थपोस्ट परिसरमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ । उक्त अस्पताल भवनको शिलान्यास गाउँपालिका प्रमुख शंकरराज बराल, ब्याक टु लाइफका निर्देशकद्वय डिकेन्द्र ढकाल र अच्युत प्रसाद पौडेलले संयुक्त रूपमा गरेका हुन् । ब्याक टु लाइफ इ भि जर्मनी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको ६ करोड ७६ लाख रुपैंया बराबरको लागतमा अस्पताल निर्माण सुरु गरिएको छ । उक्त अस्पताल निर्माणको काम ए आर टि कन्स्टक्सन, भक्तपुरले पाएको छ ।

यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैर सरकारी संस्थाका परियोजना ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको ५ शैया अस्पताल भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ । निर्माण थालनी गरिएको अस्पताल भवनको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिनुभयो । पालिका प्रमुख बरालले भवन निर्माणपछि उक्त अस्पताललाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले अस्पताललाई सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

पालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले अस्पताल भवन सम्पन्न भए पश्चात् यस विकट क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो । सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

केहि महिना अघि मात्र गोलन्जोर गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकीको पुनः निर्माणकालागि जापान सरकारले ९७ लाख रुपैँया अनुदान सहयोगकालागि सम्झौता भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया