सिन्धुली– जिल्लामा अवैध गाइगोरु तस्करी बढेको छ । सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको हो ।
तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङलगायतका जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा देखि कलिला गाईगोरु सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर भारतीय बजारमा पुर्याउने गरेको स्थानीयले बताएका छन् । अवैध गाईगोरु तस्करी जिल्लाको मुख्य समस्या नै हो । जिल्लाका सुरक्षासंयन्त्रले यस समस्याको बारे जानकारी लिएपनि नियन्त्रणमा कुनै चासो नदेखाएको नागरिक समाजका एक अगुवाले बताए ।
दैनिक रातको समयमा विपि राजमार्ग हुदै अवैध गाईगोरु भारत पुगिरहेको हुन्छ । जिल्ला हुदै दिनहुँ प्रहरी कै अगाडिबाट भारततिर गाईगोरु तस्करी भइरहेपनि उनीहरु मुकदर्शक बनेको स्थानियले आरोप लगाएका छन् । तिनपाटन गाउँपालिका १ का घनबहादुर रम्तेलले भन्नुहुन्छ, “ग्रामिण भेगबाट गाईगोरु गाडीका गाडी ओसारपसार हुन्छ । प्रहरीले पनि केहि गर्दैन, गाईगोरुको तस्करी रोकिएको छैन ।” छेकवाले गाउँगाउँमा पुगि प्रयोगमा नआएका गाईगोरु दुइ हजार देखि पाँच हजार मुल्यमा खरिद गर्ने गरेको उहाँले बताउनुभयो । खरिद गरेको गाईगोरु सिन्धुलीको विभिन्न प्रहरी चेक पोष्ट हुदै महोत्तरीबाट भारत पु¥याउने गरेका छन् । भारमा उक्त गोरु ५० देखि ६० हजार सम्म विक्री हुने गरेको एक व्यापारीले बताए । सिन्धुलीबाट दिनहूँजसो गाईगोरु ओसार्ने गरेको व्यवसायी स्वीकार गर्छन् । विभिन्न ग्रामीण क्षेत्रबाट बिनारोकतोक ट्रकमा राखी दर्जनौं गाईगोरु निकासी हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ । गलत प्रयोजनका लागि लगे पनि उनीहरुले कागजात भने दुरुस्त बनाउने गरेको भेटिन्छ ।
जिल्लाका नौँ वटै स्थानीय तहबाट गाई तथा गोरु संकलन गरी महोत्तरीसम्मका लागि कागपत्र बनाएर लैजाने गरेको सो काममा खटिएका व्यवसायी बताउँछन् । गोरुका लागि पैसा तिरे पनि गाउँलेले गाई सित्तैमा भिडाइदिने गरेको उनीहरुले बताएका छन् । जोत्ने बहानामा लगे पनि गाईगोरु कहाँ पुर्याइन्छ भन्ने बारे व्यवसायीसँग प्रष्ट जवाफ छैन । वार्षिक रुपमा लाखौँको संख्यामा गाई तथा गोरु तस्करी हुँदै आएकोे छ । रातिको समयमा सिन्धुली हुँदै तराईतर्फ गाईगोरु तस्करी हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यस्ता गाईगोरु भारतमा पुर्याउने गरिएको छ । नेपालमा बुढा भएका गाइगोरु बिक्री गर्न पाइँदैन । तर तस्करहरुले प्रशासनको आँखा छलेर यस्ता गाईगोरु संकलन गरी मासुका लागि भारतीय बजारमा पुर्याउने गरेको बताइएको छ । तस्करी नियन्त्रण गर्न प्रशासनले चासो नदेखाएको स्थानियले आरोप लगाएका छन् । पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्ने गरेका हुन् ।
के छ कानुनी व्यवस्था ?
नेपालमा गोवध प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – २७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ । उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन ।
गाईगोरु त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ । गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । उक्त कानुनले पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामर्थ्य भन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न दिँदैन । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
चौपाया ओसारपसारसम्बन्धी के व्यवस्था छ ?
पशु ढुवानी मापदण्ड, २०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन त्यो तोकेको छ । ढुवानी गर्दा पशुलाई कुनै किसिमको पीडा हुनु नहुने र हुने अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था उक्त मापदण्डले गरेको छ । मापदण्डले ढुवानी गर्दा पशुलाई गाडीमा अस्वाभाविक रूपमा शरीर, नाकेडोरी, पुच्छर वा खुट्टा बाध्नु नहुने तथा कोचेर राख्नु नहुने स्पष्ट रूपमा खुलाइएको छ । आन्तरिक ओसारपसार गरिने पशुको स्वास्थ्य जाँचको प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने, प्रत्येक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा सङ्ख्याको विवरण प्रष्ट देखिनेगरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय, पशु पाउने पक्षलाई अग्रीम जानकारी गराउनुपर्ने व्यवस्था छ । तर गाडीमा चौपायालाई निर्दयी तरिकाले ल्याइने गरिएको प्रहरीको भनाइ छ ।