पछिल्लो समय सिन्धुलीका गाउँगाउँमा अनलाईनबाटै सामान खरिद भइरहेको छ । प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट घरमै सामान आउने भएपछि अनलाईन कारोबारप्रति उपभोक्ता आकर्षित भएका हुन् । अनलाईन खरिद, बिक्रीसँगै विभिन्न तिक्डम लगाएर अनलाईन ठगि हुने गरेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक आइडी ह्याक गरी ठगीमा परेको, ई–सेवा/ओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यममार्फत ठगीमा परेको भन्दै प्रहरीकोमा उजुरी पर्ने गरेको छ ।
अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना बढ्दै गएको छ । अनलाइन माध्यमबाट हुने सेवासुविधाको उपयोग बढी भयो, सतर्कता कम भयो, सामाजिक सञ्जालको प्रयोगमार्फत पनि ठगीका घटना बढेको देखिएको छ । अनलाइनमार्फत हुने ठगी न्यूनीकरण गर्न सामाजिक सञ्जालको प्रयोगमासमेत व्यक्ति स्वयं चनाखो हुनुपर्ने आवश्यकता छ । व्यक्तिले पैसा राखेका बैंकलेसमेत सम्बन्धित व्यक्तिलाई जानकारी दिने वा गराउने प्रणाली राख्दा अनलाइन ठगी न्यूनीकरण गदै जान सकिन्छ । अतः अनलाईन ठगिबाट जोगिन स्वयं प्रयोगकर्ता सचेत हुन आवश्यक छ ।