बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका जंगलभरी आगलागी : चार हजार हेक्टर बढी बनमा आगो

मंगलवार , बैशाख १८, २०८१

सिन्धुली– सिन्धुलीमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । हाल सम्म बनमा डढेलो लाग्ने क्रम रोकिएको छैन । जिल्लाको सामुदायिक वनमा दैनिक आगोलागी भइरहेको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला–ठूला काठ, मुडा डढेर अंगार बनेका छन् । झाडी सबै जलेर सकिएको छ । आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो । कति चराचुरुंगी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन । आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन् । गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।

हरिहरपुगढी गाउँपालिका ५ मदनभण्डारी राजमार्ग नजिकै शिखर सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न डिभिजन बन कार्यालय मरिणको टोलिले आइतबार सो क्षेत्र पुगेका थिए । प्रहरी, वनका कर्मचारी सहित स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन भने सकेनन् । दुई दिनदेखि लागेको आगो भर्खरै नियन्त्रणमा आएको हो । आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन् । पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन् । त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो संख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन् ।

पहिले गाउँमा मानिसको चहलपहल हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको मरिण गाउँपालिका–१ का कुसुम लामाले बताउनुभयो । एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै हिँड्ने गरेको उहाँको भनाइ छ । खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतंक मच्याउन थालेको उहाँले बताउनुभयो । बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको उहाँले बताउनुभयो । “पहिले घाँसदाउरा ल्याउन जंगलमा पुग्दा बाँदर भेटिन्थे, चार–पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरि आगो लागिरहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावर पनि आएका छन”, उहाँले भन्नुभयो, “घर छाडेर एकैछिन कतै गएर आउँदा सबै सामान नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् ?, वनमा आगो लागेको छ ।”

दिन प्रतिदिन आगलागी हुँदै गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मान्धरले बताउनुभयो । दिन प्रतिदिन जिल्लामा आगलागी बढ्दै गएको उहाँको भनाइ छ । आगो निभाउन जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिइरहेको उहाँले बताउनुभयो । अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उहाँको भनाइ छ । “जिल्लामा नागरिकको लापरबाहीका कारण आगलागीका घटना धेरै भएका छन्, निभाउन धेरै प्रयास भएका छन्, आगलागीबाट वन जङ्गल जोगाउन डिभिजन वन कार्यालय मरिणले विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागिरहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौँ ।– उहाँले भन्नुभयो

कति सामुदायिक वन डढेलो लाग्यो ?

सिन्धुलीमा चार हजार बढी हेक्टर वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिणको तथ्यांक अनुसार जिल्लाको नौँ पालिकाको चार हजार तीन सय ८० हेक्टर वनमा डढेलो लागेको हो । नौ स्थानिय तह मध्ये सबै भन्दा बढी तीनपाटन गाउँपालिकाको जंगलमा डढलो लागेको छ । तीनपाटनमा २ हजार १ सय १ हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो लागेको छ ।

त्यस्तै कमलामाई नगरपालिकाको भिमानको जंगलमा ९ सय २० हेक्टर क्षेत्रफल, शिद्धेश्वर २ सय ८७ हेक्टर र रानिबासको १ सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । हालसम्म दुधौलीको हर्षाही लगायत विभिन्न जङ्गलमा २८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने गोलन्जोरको १ सय ३ हेक्टर जङ्गल डढेलोले प्रभावित भएको र फिक्कलको ३ सय ३५ हेक्टरमा आगो लागेको छ । सुनकोशी गाउँपालिका ५ हरियाली सामुदाकि वनमा १ सय हेक्टर, सुनकोशी गाउँपालिका ३ को राष्ट्रिय बनमा ८० हेक्टर र घ्याङलेख गाउँपालिकामा ९० हेक्टर बनमा डढेलो लागको छ ।

कति भयो क्षेती ?

वनमा लागेको डढेलोले जिल्लाका झण्डै एक दर्जन घर र गोठ जलेर नष्ठ भएको छ भने पशु चौपायको मृत्यु भएको छ । आइतबार कमलामाई नगरपालिका – १३ महेश्वर सामुदायिक बनमा लागेको आगोले एक घर र एक गोठ जलेको छ । दिउँसो करिब २ः ४५ बजेको समयमा सामुदायिक वनमा लागेको आगोले भेट्दा कमलामाई नगरपालिका – १३ का भक्त बहादुर खत्रीको एक तले खरको छानो भएको गोठ पुर्ण रुपमा जलेको हो । गोठ नजिकै रहेको खरको छानो भएको कच्ची घरको पाली समेत जली घर आंसिक क्षति भएको छ । आगलागीबाट खत्रीको अन्दाजी चार लाख बराबरको बाख्रा–१४ वटा,गाई–३ वटा जली मरेको प्रहरीले जनाएको छ ।

यस्तै, केहि दिन अगाडि गोलन्जोर गाउँपालिका वडा नं.६ गैरीगाँउ स्थित बलेनी सामुदायिक बनमा लागेको आगोबाट तीनजना स्थानीयको चारवटा घर जलेर नष्ट भएको थियो । आगलागीबाट मानविय, चौपाय क्षति नभएपनि झण्डै २० लाख रुपैँया बराबरको क्षति भएको छ । आगलागी हुँदा गोलन्जोर गाउँपालिका ६ गैरीगाँउका ६७ वर्षिय बेद कोईरालाको ढुंगा, माटो र काठले बनेको जस्ताले छाएको घर र ढुंगा माटोले बनेको जस्ताको छानो भएको गोठ पुर्ण रुपमा जली नष्ट भएको छ । उहाँको अन्दाजि सात लाख रुपैँया बराबरको क्षति भएको थियो ।

््््

त्यस्तै, सोहि ठाउँका ६५ वर्षिय ईन्द्र लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटोले बनेको घर जली पुर्ण रुपमा नष्ट भएको छ । उहाँको अन्दाजि चार लाख रुपैँया बराबरको क्षति भएको छ । त्यसैगरि, ४४ वर्षिय तिलक लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटो र काठले बनेको २ तले २ वटा घर जली पुर्ण रुपमा नष्ट हुँदा अन्दाजि आठ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको छ ।

प्रतिक्रिया