बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सवारीलाई पासो बन्दै छ मदनभण्डारी राजमार्ग

आइतवार , बैशाख १६, २०८१

सिन्धुली – फराकिलो सडक देखेपछि जुनकुनै सवारी चालकले सवारी तीव्र गतिमा चलाउछन । भर्खरै निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्गमा चालकले प्रतिस्पर्धा नै गरेर सवारी चलाइरहेको देखिन्छ । घुमाउँरो र फराकिलो देखिने राजमार्गमा दैनिक सवारी दुर्घटना हुनेगरेको प्रहरीले बताएको छ । दुर्घटनाको मुख्य कारण नै मानवीय गल्ति ‐तीव्र गती) रहेको प्रहरीले बताएको हो । भित्री मधेश भूभाग सम्म रहेको मदन भण्डारी राजमार्गमा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक यज्ञ बहादुर पालले बताउनुभयो । “अहिले धेरै जसो दुर्घटनाको घटना मदनभण्डारी राजमार्गमा भइरहेको छ । तीव्र गति घुमाउँरो सडक लगाएतको कारणले दुर्घटना हुन्छ । दैनिक सो राजमार्गमा सवारी दुर्घटना भइरहेको हुन्छ”, उहाँले भन्नुभयो ।

राजमार्गमा यात्रा गर्दा छिनछिनमा ब्रेक लगाइरहनुपर्ने कमलामाई नगरपालिका ४ का असोक न्यौपाने बताउनुहुन्छ । “मदनभण्डारी राजमार्गमा यात्रा गर्दा धेरै ध्यान दिनुपर्छ । छिनछिनमा ब्रेक लगाएन भने दुर्घटना भइहाल्छ । ठुलो मोड भएकाले तीव्रगतीमा सवारी चलाउँदा दुर्घटना हुने धेरै सम्भावना छ”, उहाँले भन्नुभयो । राजमार्गमा सवारी चलाउँदा छिनछिनमा गति घटबढ भइरहन्छ । बाटो निकै घुमाउरो छ, सानो सानो मोड छ ।

२०७५ जेठ ६ गते तत्कालीन मन्त्रिपरिषद्ले महेन्द्र राजमार्गको उत्तर र मध्यपहाडी राजमार्गको दक्षिणमा पर्ने गरी मदन भण्डारी राजमार्गको निर्माण गर्ने निर्णय गरेको थियो । राजमार्ग नयाँ ट्र्याकमा हैन, पुरानै चलिआएको बाटोमा निर्माण गरिएको हो । राजमार्गले पनि महेन्द्र र मध्यपहाडी जस्तै नेपालको पूर्व र पश्चिमलाई जोड्छ । झापाको शान्तिनगरबाट डडेलधुराको रूपाल जोड्ने यो राजमार्ग एक हजार २५० किलोमिटर लामो छ । तर, यो राजमार्गमा यात्रा गर्दा यसको घुमाउरो बाटोले टाउको रिङ्ग्याउँछ । धेरैको आन्द्राभुँडी बटार्छ ।

पछिल्लो २–३ वर्षको अन्तरालमा मात्र यहाँ थुप्रै सवारी दुर्घटना भइसकेका छन् । मदन भण्डारी राजमार्गको भीमान–बसाहा खण्डको पछिल्लो समय जिम्मेवारी पाएका इन्जिनियर हुन् गोपालप्रसाद खकुरेल आफैँ पनि सडकको डिजाइनबाट त्यति सन्तुष्ट हुनुहुन्न । उहाँ यसलाई सहायक राजमार्गको रूपमा विकास गरिएको कारण ‘अल्टरनेट’ मात्र हुने र भविष्यमा सुधारको थुप्रै सम्भावना भएको बताउनुहुन्छ । १४ जिल्ला जोड्ने मदन भण्डारी राजमार्गमा पर्ने सुर्खेत, दाङ, अर्घाखाँची, पाल्पा, नवलपरासी, सिन्धुली, उदयपुर, सुनसरी, मोरङ, झापा र इलामको धेरै भूभाग चुरेमा पर्छ ।

कति भए सवारी दुर्घटना ?

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा मदनभण्डरी राजमार्ग अन्तर्गत सिन्धुलीमा सवारी दुर्घटनामा परि १० जनाले ज्यान गुमाएका छन् । सो अवधिमा ४४ वटा साना ठुला सवारी दुर्घटनामा परि ७५ जना घाइते भएका हुन् । यस्तै चालु आर्थिक वर्ष २०८०/८१ को नौँ महिनाको अवधिमा राजमार्गमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सो अवधिमा ६ वटा साना ठुला सवारी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया