सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा आगो निभाउने क्रममा जलेर ८६ वर्षिया वृद्धको मृत्यु भएको छ । कमलामाइ नगरपालिका –१ खारखोलाकि कृष्णमाया पौडेलको बिहान करिब साढे ११ बजेको समयमा जलेर मृत्यु भएको कमलामाई नगरपालिकाको १ नम्बर वडाका अध्यक्ष नरेश कुमार गोलेले बताउनुभयो ।
घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारिमा सुकेका झारपात, पतिंगर जलाउनको लागी बृद्धा पौडेलले आगो सल्काउनुभएको थियो । आगो अन्यत्र जाने त्रासले बृद्धा आफैँ आगो निभाउन जादा बारिको डिलबाट चिप्लिएर आगो लागेको स्थान उहाँ खस्नुभएको अध्यक्ष गोलेले बताउनुभयो । पौडेल हराएको केही समयपछी खोज्ने क्रममा शरिर, हात खुट्टा जलेको अबस्थामा फेला पर्नुभएको थियो । कृष्णमाया एकल महिला हुनुहुन्छ । उहाँको दुई छोरा छन् भने एक छोरा नेपाली सेनामा कार्यरत छन् । घटनास्थलमा अहिले प्रहरी पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।