सिन्धुली– केहि महिना अगाडि सिन्धुलीको सुनकोशी गाउँपालिका ५ धोविखोलामा प्रहरीले दुइ थान भरुवा बन्दुक फेला पारेको थियो । काठ र फलामबाट बनेको १ नाले थान–१ भरुवा बन्दुक र निलो रङको प्लास्टिकले बेरेर राखिएको बेवारिसे अवस्थामा काठ र फलामबाट बनेको १ नाले थान–१ भरुवा बन्दुक गरी जम्मा २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
बन्दुक फेला पर्नु केहि दिन अगाडि सोहि ठाउँका स्थानिय ३५ वर्षिय लालबहादुर श्रेष्ठलाई बारीमा घास काट्न जादाँ एक्कासी बायाँ घुँडामा गोली लाग्यो । घरबाट अन्दाजी ५० मिटर दक्षिण तर्फ आफ्नै बारीमा घास काट्न जानुभएको श्रेष्ठलाई एक्कासी केही पड्कीएको आवाज आई आफ्नै शरीरको बाया घुँडामा चोट लागी घाईते भएका थिए । गोली लागेको घटनाको थप अनुसन्धान गर्दा स्थानिय सन्तु भन्ने ईन्द्र बहादुर तामाङको बारीमा मकैको ढोडको थुप्रो भित्र लुकाई छिपाई राखेको दुइ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
यस्तै, गत जेष्ठमा अबैध भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । हरिहरपुरगढी गाँउपालिका वडा नं. ३ बगैचाका चन्द्र वहादुर पाख्रिन र कमलामाई नगरपालिका १३ माथिल्लो रानिबासका केशब हायुलाई बन्दुक सहित पक्राउ गरेको हो । पाख्रिनको घरमा बिना ईजाजत भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा दोस्रो तल्लाको बिच कोठाको ढोका छेउमा ठड्याएर राखेको अबस्थामा भरुवा बन्दुक थान १ र सोही स्थानमा प्लास्टिकको बोतलमा १३५ ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ समेत फेला पारेको थियो । भरुवा बन्दुक सहित पाख्रिनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, हायुको घरमा बिना ईजाजत भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सुचना अनुसार प्रहरीले खानतलासी गर्दा घरको पुर्व साइडको कोठाको धानको भकारी भित्र लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान–१ फेला परेकोले उक्त भरुवा बन्दुक फेला पारेको थियो । बन्दुक सहित हायुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कमलामाई नगरपालिक वडा नं ८ बाधठेडा जंगलमा हिरालाल स्याङताङले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा सोमवार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको छ ।
कति भए हातहतियार नविकरण ?
सिन्धुलीमा हातहतियार नविकरण गर्नेको संख्या कमि देखिएको छ । जिल्लामा कतिपयले सुरक्षा चुनौति भएरै अनुमति लिएर घरमा हतियार राख्ने गरेका छन् भने कतिपयले सौखका लागि घरमा हतियार राख्ने गरेका छन् । विषेश गरेर भरुवा बन्दुक लगायतका व्यक्तिगत हतियार बढी प्रहरीले फेला पारिरहेको छ । व्यक्तिगत प्रयोजनका लागि अवैध हातहतियार लुकाइछिपाइ राख्ने गरेका छन् । जिल्लाका ग्रामिण क्षेत्रका नागरिकले मुख्यत जंगली जनावरबाट आफु र आफुले लगाएको बाली संरक्षणका लागि भरुवा बन्दुक प्रयोग गर्ने गरेको एक स्थानियले बताए ।
जिल्लामा चालु आर्थिक वर्षको नौँ महिनाको अवधिमा ३ वटा हातहतियार नविकरण भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । जिल्लामा अत्यन्तै न्यून हतियारहरुको मात्र नविकरण हुने गरेको देखिन्छ । त्यसको प्रमुख कारण हातहतियार खरखजाना ऐनले जुनसुकै जिल्लामा पुगेर त्यहाँको प्रशासनमा नविकरण गर्न छुट दिएको छ । जस्का कारण एउटा जिल्लाबाट हतियारको ईजाजत लिएकाहरुले अर्को नविकरण गर्छन् गर्दैनन् भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त गर्न सहज छैन । त्यसका लागि ईजाजत प्राप्त गर्नेलाई व्यक्तिसम्म अनुसन्धान गर्नुपर्ने देखिएको छ । यस अगाडि भएका निर्वाचनहरुमा पनि हतिहारको जोखिम रहेको थियो । ईजाजत दिए अनुसार हतियारहरु संकलन नहुने गरेको छ । जुनसुकै स्थानमा पनि हतियारको नविकरण गर्ने व्यवस्था भएका कारण समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी भरत खनालले ईजाजत लिएको आधारमा हतियारको नविकरण गरे नगरेको बारेमा जानकारी संकलन समेत गरिने बताउनुभयो ।
हतियारको दुरुपयोग गरे कारवाही हुन्छः प्रजिअ
सिन्धुलीका प्रमुख जिल्ला भरत खनालले व्यक्तिको सुरक्षाका लागि कानुनले हतियार राख्ने अधिकार दिएको बताउनुभएको छ । तर, त्यस्ता अनुमति लिएर राखिएका हतियारको दुरुपयोग भएको भेटिए कार्वाही हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हतियार सुरक्षाका लागि राख्ने हो, दुरुपयोग गर्न होइन । कसैले त्यस्तो गरेको भेटिए घटना अनुसार कार्वाही हुन्छ ।’