बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा चोरीको मोबाइल छ्याप्पछ्याप्ती : सरकारी निकाय मौन

सोमवार , बैशाख १०, २०८१

सिन्धुली – दुई महिना अगाडि कमलामाई नगरपालिका ५ का सन्तोष थापाको मोबाइल हरायो । रेडमि नोट १५ सेट घर नजिकैको पसल जाने क्रममा हराएको थियो । थापाले मोबाइल खोजी गर्नुभयो । मोबाइल भेटिएन । केहि दिनमै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उहाँले मोबाइल खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिनुभयो । उक्त हराएको सेटको आईएमईआई नम्बर भए मोबाइल भेटाउन सजिलो हुने भन्दै प्रहरीले आईएमईआई नम्बर खोज्न अनुरोध गरेको थियो । थापाले मोबाइलको आईएमईआई नम्बर भेटाउनुपनि भयो । उक्त मोबाइलको आईएमईआई नम्बर दर्ता नभएको भन्दै मेसेज आयो । एक वर्ष अगाडि सिन्धुलीमाढीकै एक मोबाइल पसलबाट उहाँले उक्त फोन खरिद गर्नुभएको थियो । बजार मुल्यमै उहाँले उक्त मोबाइल खरिद गरेपनि कानुनी रुपमा दर्ता नभएको भेटियो । प्रहरीले नै उक्त मोबाइल दर्ता नभएको बताएपनि सोधखोज गर्न चाहेन ।

यस्तै, केहि दिन अगाडि कमलामाई नगरपालिका ४ का विवेक दर्जीले जिल्लाको सदमुकामबाटै सेकेन्न ह्याण्डको मोबाइल खरिद गर्नुभएको थियो । तर उहाँले सो मोबाइलको कुनै कागजात पाउनु भएको छैन । सिन्धुलीमाढीका एक मोबाइल व्यवसायीले नाम नखुलाउने सर्तमा भन्नुभयो, “जिल्लामा नयाँ मोबाइल देखि पुराना मोबाइल अवैध रुपमा विक्री भइरहेको छ । मोबाइल चोरी गरेर सबै परिर्वतन गरिसेकेन्ड ह्याण्ड विक्री गर्छन् । मोबाइल पसलहरुमै त्यस्ता फोन छ्याप्पछ्याप्ती विक्री वितरण भइरहेको हुन्छ । भारत लगाएत छिमेकि देशबाट कर छलि गरि ल्याएको फोन धेरै विक्री विरतण भइरहेको पाइन्छ , ” उनले भने ।

कति हराए मोबाइल ?

कतै हिँड्दा पकेटमारको निशानामा परेर मोबाइल चोरी भएको छ भने लगभग मोबाइल भेटिन्न भनेर निश्चित हुँदा हुन्छ । मोबाइल चोरी भए पनि आईएमईआई नम्बर छ भने भेटिहालिन्छ भन्ने विस्वास हुन्छ । सोही अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा चोरी र हराएको विवरण दर्ता हुने गर्छ । तर निवेदन परेका तथ्यांकको १० प्रतिशत पनि मोबाइल पाउन मुस्किल देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा १० महिनाको अवधिमा ९३ वटा मोबाइल हराएको निवेदन आएको छ । सो मध्ये १४ वटा मोबाइल फेला पारेको प्रहरीले जनाएको छ ।

चोरीको मोबाइल नभेटिने कारण ?

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक अनिलकुमार खड्का अनुसार विगतमा आईएमईआई कोडका आधारमा चोरिएको मोबाइल सजिलै भेटिन्थ्यो । तर अहिले अन्तरदेशीय ट्रेस सिस्टम नहुँदा मोबाइल भेटिन मुस्किल भएको हो ।

पहिले चोरी भएका मोबाइल नेपालमै सस्तो मूल्यमा बिक्री हुने गरेका थिए । मोबाइलमा कुनै सिम लगाउने बित्तिकै खोजी गर्दा भेटिन्थ्यो । तर अहिले नेपालमा चोरी भएको मोबाइल विभिन्न माध्यम तथा चोरबाटो हुँदै निर्यात हुने गरेको प्रहरीको निष्कर्ष छ ।

त्यस्तै भारतमा चोरी भएका मोबाइल पनि नेपालमा बिक्री हुने गरेको पाइएको छ । नेपाल भित्रिएका चोरीका मोबाइल प्रहरीले पटकपटक पक्राउ गरिसकेको छ । पक्राउ परेका अभियुक्तको बयानका आधारमा चोरीका मोबाइल बाहिर जाने गरेको पाइएको हो ।

प्रहरीका अनुसार चोरी भएका मोबाइलको आईएमईआई कोड सहित अपराध अनुसन्धान महाशाखामा हराएको निवेदन दिएपछि त्यसको खोजी प्रक्रिया सुरु हुन्छ । नेपाल प्रहरीले कोड ट्रेसिङका लागि अदालतमा अनुमति माग्नुपर्छ । अदालतले कोड ट्रेसिङको अनुमति दिएपछि नेपाल प्रहरीले नेपाल टेलिकमलाई कोड ट्रेसिङका नम्बरहरू पठाउने गर्छन् । नेपाल टेलिकमले मोबाइलको ट्रेसिङ गरेर चोरिएको मोबाइल खोज्न प्रहरीलाई सहयोग गर्छ । नेपालमा हराएका मोबाइलको ट्रेसिङ नेपालभित्र प्रयोग हुने मोबाइलमा मात्र हुने गरेको हुँदा अहिले चोर बाटो भएर सीमा कटाएर बेच्ने हुँदा चुनौती भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया