सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको सुरुङ मार्ग ‘ब्रेक थ्रुु’ हुने भएको छ । आगामी बैशाख २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा विशेष समारोहका विच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो । कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण थालिएको आयोजनाको सुरुङ कूल १३.३ किलोमिटर लामो लम्बाइको हो । जस मध्ये १२.९९३ किलोमिटर सुरुङ निर्माण सम्पन्न भइसकेको आयोजनाका सिनियर इन्जिनियर अशोक गौतमले बताउनुभयो । उहाँका अनुसार आयोजनाको सुरुङतर्फको मात्र प्रगति अब ९८ प्रतिशत पुगेको छ । अब बाँकी २ प्रतिशत काम सम्पन्न भएसँगै सुरुङ ‘ब्रेक थ्रु’ हुने भएको छ ।
उहाँका अनुसार सुरुङ निर्माणमा भौगोलिक जटिलता उत्पन्न नभए आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । “ सुरुङको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब २ सय ६ मिटर मात्र सुरुङ खन्न बाँकी छ । बाँकी खन्न कुनै भौगोलिक जटिलता नआए सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती र मधेश प्रदेशका विशिष्ठ व्यक्तित्वहरुको समेतको उपस्थितीमा विशेष समारोहका विच सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो,” उहाँले भन्नुभयो । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरि निर्माण गरिएको सुरुङको लक्ष्यभन्दा तिन महिना अगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले २०७७ चैत मा कुल १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ मार्ग निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त सुरुङमार्ग २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको थियो । करिव २२ महिनामा निर्माण सक्ने लक्ष्य राखिएकोमा तिन महिना अघि अर्थात १९ महिनामै ‘ब्रेक थ्रु’ हुन लागेको हो । यस अघि टिबिएम माथी पहिरो खस्दा विभिन्न पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अबरुद्ध समेत भएको थियो ।
राष्ट्रिय बहुउद्देस्यीय सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट तराई–मधेसमा एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रुपमा लिएको छ ।
सुनकोशी गाउँपालिका ७ स्थित कानढुंग्रीबाट सिन्धुली र रामेछापको सिमा हुँदै बग्ने सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाईको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारमा झारिनेछ । ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ७ मेघावाट विद्युत उत्पादन गरिनुका साथै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने छ ।
सुरुङ तयार हुन डेढ वर्ष लाग्ने
यद्यपि, यो सुरुङ तयार हुने भने थप डेढ वर्ष लाग्ने बताइएको छ । यो सुरुङलाई ब्रेक थु्र गरेर मात्रै हुँदैन, पानी बग्न (प्रवाह गर्न) योग्य बनाउनुपर्छ । त्यो रूपमा सुरुङ तयार गर्न अझै डेढ वर्ष लाग्ने आयोजना निर्देशक मित्र बरालले बताउनुभयो । ब्रेक थ्रु भएपछि भूएक्सरे गरेर सुरुङ र वरिपरिका भूभागको भौगर्भिक अध्ययन तथा अवलोकन गरिनेछ । यसैगरी, सुरुङको भुइँ र भित्तालाई विशेष रूपमा ढलान गरिनेछ । पानी नचुहिने गरि भुई र भित्ता ढलान (राउनटी) गर्नेलगायतका फिनिसिङका काम गर्नुपर्छ । यस्ता काम गर्न थप डेढ वर्ष समय लाग्ने उहाँले बताउनुभयो ।