सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका निर्मल थापा बिहानी हिँडाइमा निस्किनुहुन्छ । नियमित घरबाट कनपा ५ को सिलामेसम्म बिहानी हिँडाइ गर्दा आजभोलि उहाँलाई केही असहज भएको महसुश हुन्छ । “केही दिनयता आँखा पोल्ने र श्वास फेर्न पनि गाह्रो भएको महसुस भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिले स्वच्छ शीतल हावाले फ्रेस बनाउथ्यो । अहिले त्यहि स्वच्छ र मिठो हावा दिने वनबाट डढेको दुर्गन्ध फैलिएको छ ।” बिहान स्वच्छ शीतल हावामा टहलिने वातावरण नभएको थापाले बताउनुभयो ।
सुख्खायाम शुरु भएसँगै सिन्धुलीमा आग्लागीको घट्ना बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुक्खा र हावाहुरीको मौसम शुरु भएपछि जिल्लामा झण्डै दुई दर्जन बढि आगलागीका घट्ना घटेका छन् । सिन्धुली प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को नौँ महिनामा मात्र ५० बढि आगलागीका घटना घटेका छन् । विभिन्न कारणले आगलागी हुँदा नाबालक सहित दुई जनाको जलेर मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फाल्गुन र चैत्र महिनामा मात्र जिल्लामा १५ बढि आगलागीका घट्ना भएका छन् । यस्ता आगलागी प्राय मानविय तथा प्राविधिक त्रुटिका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विनोद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘“असावधानी तथा स्थानीय जंगलहरूबाट सल्केको आगोका कारण वनमा आगो लाग्ने गरेको छ ।”
पछिल्लो तथ्यांक अनुसार जिल्लाका अधिकांश वनमा डढेलेको लागेको छ । चुरे क्षेत्रका वनमा अहिले डढेलोको धुवाँ र मुस्लो देखिन्छ । डढेलोले चुरे मात्र होइन, सामुदायिक वनमा समेत प्रभाव परेको छ । कमलामाई नगरपालिका ४ का मदन श्रेष्ठ घरमा पालेका पशु चौपायालाई जंगलबाट घाँस काटेर ल्याउने अवस्था नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पशु चौपायालाई आहारा त छैननै आफ्नै घरपनि कुन बेला डढेलोले सोत्तर पार्छ भनेर रातको निन्द्रानै हराउँछ ।”
उहाँले भन्नुभयो, “आगलागी नियन्त्रणमा लिन कसैले पनि चासो नदिएको अवस्था छ । भर्खरै सिन्धुलीमा नयाँ दमकल आएको सुनेको थिए । तर, राजमार्गबाट केहि मिटर परको जंगलमा आगो दनदनि बलिरहदा पनि दमकल आएन ।” गाउँलेले डढेलो निभाउन नजानेको र डढेलो निभाउने कुनै साधन पनि नभएको श्रेष्ठले बताउनुभयो ।
विपी राजमार्ग हुदैँ काठमाडौँ जान लाग्नुभएका झापाका रबि अधिकारीले डढेलोँ बढेसँगै वायु प्रदुषण बढेको बताउनुभयो । राजमार्गमा यात्रा गर्दा आँखा पोल्नेदेखि बाटो स्पष्ट नदेखिने गरेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “जंगलमा डढेलो लाग्दा गएका केहि दिनदेखि वातावरणमा प्रतिकुल असर परेको छ । धुवाँले गर्दा आँखा पोल्ने, श्वास फेर्न समस्या भएको छ । प्रदुषण बढेको छ ।” धुवाले आँखा पोल्दा समस्या भएको बताउनुहुन्छ कमलामाई नगरपालिका २ स्थित चियाबारी की सिता कार्की । जंगल नजिकै घर छ, जंगलबाट निस्केको धुवाँले आँखा पिरो हुने तथा श्वास फेर्न असहज भएको उहाँले बताउनुभयो ।
डढेलोको धुवाँले आँखामा प्रत्यक्ष असर गर्ने जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत एक डाक्टरले बताए । डढेलोले वातारणमा असर गर्नुका साथै मानवयि स्वास्थ्यमा समेत खेलबाँड गरिरहेको ती चिकित्सकले बताए । वन्यजन्तुको बासस्थानमा खराब गरेको उनले तर्क राखे । वन्यजन्तुहरु आफ्नो बासस्थानबाट अन्यन्त्र सर्दा गाउँबस्तीमा निस्कने खतरा बढेको उनले बताए । सिन्धुलीमा पाँच सय बढि सामुदायिक वन छन् । प्रायः सबै वनजंगलमा डढेलो लाग्न सुरु भइसकेको छ । अनुसार सामुदायिक वनले काठ दाउरा बेच्न नसक्दा वनजंगल संरक्षणप्रति नागरिकको अपनत्व घट्दै गएको छ । चालू वर्षमा वन डढेलो सम्बन्धी सचेतनाको कार्यक्रम समयमै हुन नसक्दा पनि समस्या भएको स्थानिय बताउँछन् ।
डढेलोले वनै सखाप पारिरहदा राजमार्ग आसपासका क्षेत्रमा समेत आगलागीले हैरान बनाएको कमलामाई नगरपालिका १ का विष्णु तामाङले बताउनुभयो । राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रुको आँखा पोल्ने लगायत आँखा तथा श्वाँसप्रश्वासको समस्या देखिने गरेको उहाँले बताउनुभयो । त्यसैगरि, डढेलो लागेसँगै वन्यजन्तु बस्ति पस्न शुरु गरेको उहाँले बताउनुभयो । “सुख्खा र हावाहुरिको मौसममा आगलागी भइरहेको छ । तर, तस्करले पासो थापेर वन्यजन्तुको सिकार गरिरहेका छन् ।” जिल्लाको सदरमुकाममै रहेको सिन्धुलीमाढीकै केहि जंगलमा मृग समेत फेला पार्न मुश्किल हुने गरेको कमलामाई नगरपालिका ५ सिलामेका राधा श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आगलागीको समस्या त छदैँ छ, उता तस्करले वन्यजन्तु सखाप पार्न थालो ।”
जिल्लाको सबैभन्दा बढी मरिण गाउँपालिकामा आगलागीका घटना भएका छन् । मरिणमा मात्र आगलागीबाट दर्जनौँ घरहरु जलेका छन् । फिक्कलमा ३, घ्याङलेखमा २, कमलामाई नगरपालिकामा २, हरिहरपुरगढी, तिनपाटन गाउँपालिका, सुनकोशी र दूधौली नगरपालिकामा एक÷एक घर जलेर नष्ट भएका छन् । प्रहरीसँग सम्पर्कमा आएका घट्ना यिनै भएपनि धेरै जसो आगलागी घट्नामा प्रहरीलाई सम्पर्क नगर्ने गरेको सिन्धुली प्रहरीले बतायो ।
जिल्लाका विभिन्न सामुदायिक र राष्ट्रिय वनहरू समेत आगलागीका कारण क्षति भएका छन् । आगलागीका कारण प्राकृतिक जडिबुटी, वन्यजन्तुका साथै लाखौं रुपैयाँका काठ दाउरा जलेर नष्ट भएका छन् । सुक्खा मौसम र हावाहुरी बढ्दै गएकाले आगलागीका घटनाहरू वृद्धि हुँदै गएको पाइएको छ । आगालागीका कारण सुनकोशी र गोलन्जोर गाउँपालिकाका विभिन्न क्षेत्र जोखिममा रहने गरेका छन् । मानवीय त्रुटी र असावधानीका कारण हुने आगलागीका घटना नियन्त्रणमा चुनौती हुने गरेको बताइन्छ ।
डिभिजन वन कार्यालय सिन्धुलीका अनुसार उपभोक्ताकै आकर्षणका कारण सिन्धुली जिल्लामा हालसम्म ५०८ वटा सामुदायिक वन समिति गठन गरि उपभोक्तालाई हस्तान्तरण भई सकेको छ । हस्तान्तरण भई सकेका यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलब ८५ हेक्टरमध्ये ८९ हजार ९४० दशमलब ४२ हेक्टर क्षेत्रफल ओगटेको छ । हस्तान्तरित सामुदायिक वनबाट ५४ हजार ३६३ घरपरिवारका उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
अहिले फैलिरहेको डढेलो र त्यसबाट निस्किएको धुवाँ नै सिन्धुलीमा भइरहेको वायु प्रदूषणको मुख्य कारण रहेको वातावरण शिक्षक रोहन प्रधान बताउनुहुन्छ । ‘अहिलेको मुख्य समस्या डढेलो र त्यसबाट निस्किएको धुवाँ हो । जसले गर्दा जिल्लाको मात्र नभएर देशभरको वायुको गुणस्तर खस्किएको छ,” प्रधान भन्नुहुन्छ, “अप्रिल मध्यदेखि मे अन्त्यसम्म हुने प्रदूषणको मुख्य कारण डढेलो हो ।”