बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विश्वचर्चित युट्युब स्टारको मिसन सेक्रेटमा सिन्धुलीको कथा (भिडियो सहित)

सोमवार , बैशाख ३, २०८१

सिन्धुली– विश्वमै दोश्रो सर्वाधिक पछ्याइनुु भएका ‘युट्युव स्टार’ मिस्टर बिस्टले सिन्धुलीको फिक्कल गाउँपालिकाको कथा सार्वजनिक गर्नुभएको छ । गत माघको दोश्रो साता नेपाल आउनुभएको बिस्टले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिनुभएको थियो ।

मिस्टर बिस्ट सन् २०२३ मा टि–सिरिजपछि दोश्रो सर्वाधिक पछ्याइनुभएका युट्युबर हुनुहुन्छ । उहाँलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ । मिस्टर बिस्टलेनै संचालन गरेको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् । उहाँले ‘बिस्ट फिलान्थ्रोपी’ मा सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ३ स्थित चनौटेमा रहेको फिक्कल आधारभुत अस्पतालमा सोलार बत्ति जडानको कथा सार्वजनिक गर्नुभएको हो । विश्वभर उच्च फ्यान फलोइङ रहेको बिस्टले १० शय्याको उक्त अस्पतालमा ‘गिभ पावर’ को सहयोगमा सोलार बत्ति जडान गरेको भिडियो सार्वजनिक गर्नुभएको छ । फिक्कलको वडा नम्बर ३ स्थित चनौटेमा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगि नसकेकोले स्थानियले टुकि बत्तिकै साहारामा बस्नुपरेको छ ।

उहाँ परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहनु हुन्छ । फिक्कल आधारभुत अस्पतालमा सोलार बत्ति जडान गरेको भिडियो सार्वजनिक गर्नुभएका बिस्टले नवजात शिशुलाई न्यानो राख्न १० वटा तापमान उपकरण अस्पताललाई दिनुभएको छ । नेपाल आइपुगेको गोप्य कारण नयाँ वर्ष २०२४ मा मात्र खुलाउने मिस्टर बिस्टले बताउनुभएको थियो । उहाँले फिक्कल अस्पतालको भिडियो सार्वजनिक गर्दै नेपल आउनुको गोप्य कारण आइतबार (जनवरी) २ मा सार्वजनिक गर्नुभएको छ । उक्त भिडियो १४ घण्टामा २३ लाख बढिले हेरिसकेका छन् ।

संरचना छ, संचालन हुन सकेन अस्पताल: ११ रोपनी क्षेत्रफलमा फैलिएको फिक्कल आधारभुत अस्पतालको भवन पाँच करोड ४७ लाख ८२ हजार १ सय ५२ रुपैयाँ लागतमा निर्माण सम्पन्न भइसकेको छ । अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न भए पनि संचचालनमा आउन ढिलाई हुने गाउँपालिकाको उपाध्यक्ष राजु बरालले बताउनुभयो । उहाँले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयसँग अस्पताल सञ्चालनका लागि पालिकाले आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।

फिक्कल गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी सञ्चालनमा छन् । सामान्य उपचार बाहेक अन्य केही भएमा पालिकामा बिरामीलाई उपचार हुँदैन । त्यस्ता बिरामी सदरमुकाम सिन्धुलीमाढी तथा काठमाडौँ उपचारका लागि लानुपर्ने स्थिति छ । यो आधारभूत अस्पताल सञ्चालनमा आए फिक्कलका सयौँ बिरामीले पालिका स्तरमै उपचार पाउने छन् । अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरू विभिन्न दातृ निकाय तथा पालिकाको पहलमा स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबाट ल्याउन पहल भइरहेको अध्यक्ष पार्वति सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा आवश्यक कर्मचारी स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार राख्नुपर्ने हुन्छ त्यसका लागि समेत हामी तयारी गर्दैछौँ । नयाँ आर्थिक वर्षबाट अस्पताल सञ्चालनमा ल्याउन पालिकाले पहल गरेको छ ।’

पालिका उपाध्यक्ष राजु बरालले भने निर्माण सम्पन्न भएपनि अस्पताल सञ्चालन गर्न आवश्यक बजेट पालिकासँग नभएको बताउनुभयो । उहाँले थप तीन करोड बजेट भए अस्पताल सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले नीति बनाएर हामीलाई सहयोग गरे अस्पताल सञ्चालनमा सहज हुन्छ, नत्र पालिकाले अस्पताल सञ्चालन गर्न सक्ने स्थिति अहिले छैन ।’ सबैलाई सहज होस् भनेर गाउँपालिकाको मध्य भाग चनौटेमा अस्पताल निर्माण गरिएको उनको भनाई छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया