सिन्धुली – तीनपाटन गाउँपालिका–३ सिपालीका एक बालकलाई साङ्गलोले बाँधेर राखिएको छ । नौ वर्षीय संजिव घलानलाई चार वर्षदेखि फलामको साङ्गलाले बाँधेर राखिएको हो ।
घर छोडेर जतासुकै हिड्ने र जे भेट्यो त्यही खाने गर्न थालेपछि साङ्गलोले बाँधेर राखिएको बालकका बुबा तेजबहादुर घलानले बताउनुभयो । उहाँले भन्नुभयो, “मजदुरी गरेर गुजार चलाउनु पर्छ । छोरालाई हेरचाह गरेर बसिरहने फुर्सदै मिल्दैन ।”
बालापनको यो उमेरमा संजिवले आफ्नो घरभित्रै कैदी जीवन विताउन बाध्य हुनुहुन्छ । आर्थिक अवस्था ज्यादै कमजोर भएकाले बिरामी छोरालाई अभिभावकले उनको उपचारगर्न सकेका छैनन् ।
संजित तेजबहादुरको जेठी श्रिमती पटीको छोरो हुनुहुन्छ् । कान्छी श्रीमती पटी एउटा छोरो र तीन छोरीहरु छन् । संजिवलाई जन्म दिने आमाले छोडेर गएपछि हेरचाह गर्नेको अभाव छ । “खानेकुरा मागिरहन्छ, दिइरहने फुर्सदै मिल्दैन, आफु काममा निस्कनु पर्छ ,” बाबु तेजबहादुरले भन्नुभयो ।
संजिव शारीरिक, मानसिक र संवेगात्मक तवरले अस्वस्थ हुनुहुन्छ । ज्याला, मजदुरी गरेर बुबाआमा घर फर्किदा दिसापिसाबमा डुबेर बस्नु भएको हुन्छ । पैसा नभएर उपचारको लागि राम्रो अस्पताल लैजान नसकेको बुबा तेजबहादुरको दुखेको छ । “छोरा स्वस्थ बनाउन धामीझाक्री पनि लगाए । देउताले बोली रोक्यो भनेर दक्षिणकाली दर्शन गराउँदा पनि बोली फुटेन,” उहाँले भन्नुभयो, “अहिले झन रोगी बन्दै गएको छ ।”
दिनभर फलामे साङ्लोले सधैँजसो घर आगाडि बाँधेर राखेको अत्यन्त विजोग र पीडादायी दृष्य देखिने स्थानीयबासी अनिल दाहालले बताउनुभयो । उहाँले भन्नुभयो्, “बालकको बेस्याहार भएको छ । राम्रो उपचार पाए ठीक हुन सक्छन् । बालकलाई अहिलेको नरकीय अवस्थाबाट उद्धार गर्न आवश्यक छ ।”
वडा अध्यक्ष लालबहादुर स्याङ्गतानले बालकको उपचार तथा उद्धार गरिदिन आग्रह गर्नुभयो । “कहाँ र कसरी उद्धार गर्ने अलमलमा परेका छौँ म सरकारी तथा गैरसकारी संस्थाहरुलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु,” उहाँले भन्नुभयो ।
