बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा विष्फोट र काभ्रेमा तीन करोडको रुख काटिएको प्रकरणमा कनेक्सन !

शनिवार , बैशाख १, २०८१

सिन्धुली– सिन्धुलीमा २७ दिनभित्र दुईवटा बम विष्फोट गराईएको घट्ना र काभ्रेमा तीन करोडको बुद्धचित्त रुख काटिएको प्रकरणमा कनेक्सन देखिएको छ । गत बिहिबार सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट गरिएको थियो । त्यस्तै, गत चैत २ गते सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ । यता, काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले काटेको बुद्धचित्त (बोधिचित्त)को रूख आसपास जनमुक्ति सेनाको ज्याकेट भेटिएको काभ्रे प्रहरीले बताएको छ ।

काभ्रे र सिन्धुलीमा घटेको दुई फरक घट्नामा एउटै समूहको पर्चा र ज्याकेट भेटिएको हुँदा दुई घट्नाबिच कनेक्सन हुन सक्ने प्रहरी श्रोतले बतायो । काभ्रेको सीसाखानीमा वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको रुख अज्ञात समुहले काटेका थिए । घरधनी शेरबहादुर तामाङले बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रूख बिक्री गरिएको थियो । सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे ।

“दुई÷तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएको थियो’ तामाङले भन्नुभयो, ‘अहिले बल्ल रुखमा फूल फुल्दै थियो, फल्नुअघि नै आएर रूख काटिदिए ।” उहाँले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताउनुभयो । त्रिपाठीले यही व्यवसायमा रहेका अरुले आफूले नपाएको झोंकमा यस्तो घटना गराएको हुनसक्ने बताउनुभयो ।

 

“अरुले पनि किन्न खोजेका थिए, नपाएपछि यस्तो गरेको हुनसक्छ”, त्रिपाठीले भन्नुभयो, “फूल मात्र फुलेको बेला यस्तो गरेकाले पनि यो प्रतिशोधबाहेक केही होइन भन्ने देखिन्छ ।”

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ भने फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताउनुहुन्छ । उहाँका अनुसार शुक्रबार बिहान १ बजेतिर तामाङको घर छेउमा रहेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका थिए । सूचना आएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेको थियो । यद्यपि, त्यतिञ्जेल यसमा संलग्न व्यक्तिहरु फरार भइसकेका थिए ।

प्रहरी टोली घरमा पुग्दा आँगनमा ४ वटा सकेट बम भेटिएको थियो । नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट पनि फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अनुसन्धानलाई अलमल्याउन उनीहरुले त्यो ज्याकेट छाडेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी श्रोतका अनुसार, अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिले आफूलाई बुद्धचित्तको रुख बिक्री गर्न घरधनीलाई भनेका थिए । यद्यपि, पछि घरधनी तामाङले लामा र त्रिपाठीलाई रुख बिक्री गरेका थिए । काभ्रेमा पाइने बुद्धचित्त व्यवसायीले खरिद गरेर चीनमा लगेर बिक्री गर्ने गरेका छन् । धार्मिक महत्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ ।

प्रतिक्रिया