सिन्धुली – सरकारी काम स्थानीय स्तरमै हुन थालेपछि सिन्धुलीको जिल्ला सदरमुकाम तथा मुख्य बजारमा चहलपहल घट्न थालेको छ । मुलुक संघीयतामा गएसँगै विभिन्न सरकारी सेवासुविधा स्थानीय तहबाटै हुने भएपछि सदरमुकामसम्म नै धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय तह बलियो बन्दै जानु र ग्रामीण बस्तीसम्म यातायातको पहुँच विस्तार भएसँगै मुख्य व्यापारिक केन्द्रहरूमा चहलपहल घटेको व्यापारी बताउँछन् ।
बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि नागरिक आजकल बिरलै सदरमुकाम छिर्ने गरेका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि सदरमुकामको व्यापार व्यसाय मात्र होइन, सरकारी अड्डासमेत सुनसान छन् । राहदानी, नागरिकता र जग्गासम्बन्धी कामका लागि मात्र सदरमुकामसम्म धाउनुपर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ का हरिकृष्ण विकले बताउनुभयो । “स्थानीय सरकार हाम्रै गाउँठाउँमा आएको छ, त्यसैले घन्टौं लगाएर सदरमुकाम झर्नु पर्दैन,” उहाँले भन्नुभयो, “बजारमा भन्दा गाउँमा मानिसको चहलपहल छ, रमाइलो छ ।”
संघियताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै हुन थालेपछि सदरमुकाम आवतजावतमा कमी आएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो । “सदरमुकामबाट हुने धेरैजसो काम गाँउमै हुने भएकाले सदरमुकामको व्यापार खुम्चिएको र गाँउबस्तीमा चहलपहल देखिन थालेको हो,” उहाँले भन्नुभयो, “अहिले त चाडपर्वको समयमा पनि त्यति व्यापार छैन ।” पहिले सबैभन्दा बढी भीड हुने जिल्ला समन्वय समिति (तत्कालीन जिल्ला विकास समिति) मा एउटै सेवाग्राही भेटिँदैनन् ।
छ वर्षअघिसम्म सदरमुकाम सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सेवाग्राही र कर्मचारीको चाप बढी देखिन्थ्यो । विकासे अड्डामा सेवाग्राही दौडिरहेका हुन्थे । सेवाग्राही र कर्मचारीका कारण सिन्धुलीमाडीको व्यवसाय पनि राम्रै चलेको थियो । चाँडै आएर चाँडै काम सकाउने सेवाग्राही लोकल बसमा फर्कन्थे । दिउँसो दुई बजे चल्ने लोकल बस यात्रुले खचाखच हुन्थ्यो । आएको दिन काम नसकिएका सेवाग्राही होटलमा बस्थे ।
अहिले यी सबै विपरीत भएका छन् । सदरमुकाम सुनसान देखिन्छ । होटल पाहुनाको स्वागत गर्न कुरिरहेका देखिन्छन् । विकासे अड्डामा एकदुई जना कर्मचारी भेटिन्छन् । मेला, चाडपर्वमा मात्रै मानिसको चहलपहल देख्न सकिन्छ । अन्य समयमा सुनसान हुने गरेको सिउन्धुलीा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बिनेशकुमार श्रेष्ठले बताउनु भयो । “पहिले सदरमुकामबाट हुने काम अहिले गाउँपालिकाको केन्द्रबाटै हुन्छ, सदरमुकाम झर्ने त नागरिकता र राहदानी बनाउने मात्रै हो,” उहाँले भन्नुभयो, “सदरमुकाम सुनसान हँुदा व्यापारी चिन्तित भएका छन् ।”
सदरमुकाम सुनसान हुनुको कारण स्थानीय सरकारको आगमन, विकासे अड्डाको पलायन र जिल्लामा तीन ठूला राष्ट्रिय राजमार्ग निर्माणसँगै ग्रामीण क्षेत्रमा सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालनले गर्दाहो । यातायातको सुविधा गाउँसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तु उही मूल्यमा आफ्नै घरछेउमा पाइने भएपछि सदरमुकामको व्यापार खुम्चिनुका साथै गाउँबस्तीमा चहलपहल देखिन थालेको छ । सदरमुकाममा लाग्ने सेवाग्रहीको भीड आजभोलि सबै गाउँपालिका र वडातिर फर्किएको छ । सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी व्यवसाय भने संकटमा परेका छन् । सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार पनि सुस्ताउँदा स्थानीय तहको सदरमुकाम क्षेत्रको जग्गाको भाउ भने अकासिएको छ ।
सदरमुकामको घट्दो चहलपहलले स्थानीय तहका कार्यालय आसपासका क्षेत्रमा भने व्यस्तता बढाएको छ । यसअघि सदरमुकाममा रहेका बैंक,जिविस, कृषि, पशु, शिक्षा, खानेपानी, महिला विकास, सहरी विकासलगायत विकासे कार्यालयमा सेवाग्राहीको भीड हुन्थ्यो । तर अहिले कृषि, पशु, शिक्षा, महिला विकास गाउँपालिकामै शाखाको रूपमा स्थापना भएका छन्।जसले गर्दा सदरमुकामको चहलपहल घट्दै गएको हो । चहलपहल घट्न थालेपछि सिन्धुलीमाडीमा सञ्यवसाय पनि ओरालो लागेको व्यावसायी बताउँछन् । सदरमुकामको घट्दो चहलपहलले स्थानीय तहका कार्यालय आसपासका क्षेत्रमा भने व्यस्तता बढाएको छ ।