सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य समबन्धी क्षमता विकासको तालिम दिईएको छ । वागमति प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, गोलन्जोर गाउँपालिकाको समन्वय तथा सहजिकरण र राइज नेपालको आयोजनामा दुई दिनसम्म यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि क्षमता विकासकालागि तालिम दिइएको हो । वागमति प्रदेशका सांसद सुष्पा भुजेल(आस्था) को प्रमुख आतिथ्यता, गोलान्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज वराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को विशिष्ट अतिथ्यता तथा राईज नेपाल सिन्धुलीका अध्यक्ष देव कुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उमेर अनुसारको वृहत यौनिकता शिक्षा, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन लगायत यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराइएको छ ।
तालिममा गोलन्जोर गाउँपालिकाका १ देखि ७ सम्मका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवं् प्रतिनिधिहरु र गोलन्जोर गाँउपाकिलाका १ देखि ७ सम्मका ७० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । गोलन्जोर गाउँपालिकाको किशोर किशोरहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि क्षमता विकास गरि समाजमा यौन तथा प्रजनन् स्वास्थ्य समवन्धि समस्याहरुलाई न्यूनिकरण र चेतना वृद्धि गर्ने उद्धेश्यका साथ कार्यक्रम संचालन गरिएको राईज नेपालका अध्यक्ष देव कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा वागमति प्रदेशका सांसद सुष्पा भुजेलले यस्ता कार्यक्रम गर्नुको मुख्य उदेश्य समाजमा चल्दै आएको कुरिति र कु प्रथाको अन्त्य गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको समाज प्रविधिको समाज हो । किशोर किशोरीहरु परिवर्तनका संवाहक रहेकोले यस विषयमा किशोर किशोरीहरुलाई क्षमतावान वनाएमा समाजमा बाल विवाह, महिला हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा, कुप्रथा तथा शारिरिक हिंसाको न्युनिकरण गर्न सकिन्छ । बागमती प्रदेश सरकारले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि तालिम दिएर क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।’
त्यसैगरि, कार्यक्रममा पालिका अध्यक्ष शंकरराज वरालले यस्ता तालिमले विशेषगरि वाल विवाह, महिला हिंसा न्युनिकरण गर्न सहयोग पुग्ने बताउनुभयो । साथै, यस्ता कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा पनि रहेको अध्यक्ष बरालले बताउनुभयो । कार्यक्रममा सहजिकरण गोलन्जोर गाउपालिकाका स्वास्थ्य शाखाका कार्यरत मिन वहादुर आछामि र तारा व. श्रेष्ठले गर्नु भएको थियो । त्यस्तै, कार्यक्रमको संचालन राईजका सचिव मिन वहादुर रायले गर्नुभएको थियो ।