सिन्धुली– एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे । छिनमै वडापिच्छेका महसुल कक्षमा ग्राहकको लाम लाग्थ्यो । घण्टौँसम्म पालो पर्खेर ग्राहकले महसुल बुझाउँथे । लाममा उभिँदाउभिँदै समय घर्के अर्को दिन कुर्नुपथ्र्यो ।
यसले केही वर्षअघिसम्मको सार्वजनिक सेवाको स्थिति दर्शाउँछ । बोझिलो र झण्झटिलो सेवा प्रवाहबाट सर्वसाधारण कतिसम्म आजित थिए भन्ने देखाउँछ । आज त्यो स्थितिमा बदलाव आएको छ । राज्यले दिने सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन सक्दा कति फरक पर्छ भन्ने एउटा उदाहरण त्यही विद्युत् कार्यालय पनि बनेको छ । नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रका अनुसार अहिले ३० प्रतिशत बढि ग्राहकले अनलाइनबाटै महसुल तिर्छन् । ग्राहकले घरमै बसीबसी बैंकीङ प्रणालीबाट भुक्तानी गर्न सक्छन् । अनलाइन भुक्तानी सुरु भएपछि कार्यालयमा सेवाग्राहीको भीडभाड केहि हदसम्म कम भएको छ । कार्यसम्पादनमा सहजतासँगै ग्राहकले छरितो सेवा पाएको कर्मचारीहरु बताउँछन् । प्राधिकरणले कोभिड–१९ महामारीमा ग्राहकले आफैँ मिटर रिडिङ गरेर विद्युतीय भुक्तानी गर्न सक्ने प्रणालीसमेत सञ्चालनमा ल्याएको होे । बन्दाबन्दी र निषेधाज्ञाका कारण मिटर रिडर ग्राहकको घरघरै पुग्न सम्भव नभएपछि प्राधिकरणले अनलाइनमार्फत उक्त सेवा दिएको हो । नयाँ मिटर जडानका लागि आवेदन पनि अनलाइनबाटै दिन सकिने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, आन्तरिक राजश्व कार्यालयबाट दिइने धेरैजसो सेवा पनि अनलाइन प्रणालीमा आधारित छन् । कार्यालयका कर अधिकृत दिपेन्द्र पुनले ९० प्रतिशत सेवा अनलाइनमा गएको बताउनुभयो । ‘व्यवसाय दर्ता, नाम परिवर्तन र खारेजीजस्ता सीमित कामका लागि मात्र सेवाग्राही भौतिकरूपमा कार्यालयमै उपस्थित हुनुपर्छ नत्र अरु सबै काम अनलाइनबाटै हुन्छ’, उहाँले भन्नुभयो । अन्तःशुल्क महसुल, आयकर, मूल्य अभिवृद्धिकर, अग्रिम करलगायत सबैखाले कर/राजश्व अनलाइन प्रणालीबाटै तिर्न सकिने पुनले बताउनुभयो ।
व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनका लागि पनि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था छ । ‘रीत पुराएर अनलाइन फाराम भरेपछि सम्बन्धित व्यक्तिको इमेल या मोबाइलमा पान नम्बर जान्छ’, पुनले भन्नुभयो, ‘पानको सक्कल प्रिन्ट निकाल्नका लागि भने कार्यालयमै आउनुपर्छ ।’ अनलाइन सेवा लिँदा त्रुटि, कमीकमजोरी भए त्यसलाई संशोधन र प्रमाणित गर्न पाउने सुविधासमेत सेवाग्राहीलाई छ । कोभिड–१९ पछि अनलाइन माध्यमको उपयोग गरी सेवा लिने करदाताको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । सूचना, प्रविधिको प्रयोगले कार्यालयमा भीडभाड कम हुनुका साथै सेवाग्राहीले सहज र छरितो सेवा पाउन थालेका छन् । सेवाग्राहीलाई कार्यालय धाउँदा लाग्ने समय र लागत पनि घटेको छ ।
करदाता रोजिता थापाले पहिले दिनभर लाम लागेर सेवा लिनुपर्ने स्थिति रहेकामा अहिले त्यो हटेको बताउनुभयो । ‘प्रविधिको प्रयोग गर्न जाने अहिले राजश्व कार्यालय जानै पर्दैन, सबै काम अनलाइनबाट हुन्छ’, उहाँले भन्नुभयो । अनलाइन प्रविधि सिक्न सेवाग्राही स्वयंले रुचि र तत्परता भने देखाउनुपर्ने थापाले बताउनुभयो ।
सार्वजनिक सेवालाई स्वच्छ र जनमुखी बनाउन सके मात्र सरकारका संयन्त्रप्रति नागरिक विश्वास बढ्छ ।सार्वजनिक सेवालाई चुस्त, प्रभावकारी र पहुँचयोग्य बनाउन जरुरी छ । निजामती क्षेत्रलाई स्थायी सरकार पनि भनिन्छ, यो सधँै नागरिकप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ । आधुनिक सिद्धान्त र पद्धतिलाई आत्मसाथ गर्दै सेवा प्रवाह गर्न सक्यौँ भने निजामती सेवाको गरिमा पनि बढ्छ । राज्यको सूचना, प्रविधि नीतिअनुसार नै कार्यालयले प्रविधिको उपयोग गरेर सेवा प्रवाह गर्न जरुरी छ । समयसापेक्ष रूपमा नागरिकलाई गुणस्तीय सेवा दिन सरकारी कार्यालयले सूचना, प्रविधिको उपयोगलाई बढाउँदै जानुपर्छ । पछिल्लो समय सार्वजनिक सेवालाई आधुनिक प्रविधिमैत्री बनाउन राज्यको लगानी बढ्दो छ ।