सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ ।
होलीको लागि आकस्मिक र आवश्यकता अनुसार ठाँउठाँउमा चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विनोद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “घुमुवा प्रहरी, मोबाइल टोली र सादा पोसाकका प्रहरी पनि खटिएका छन् । कुनैपनि अराजक र उत्शृंखल घटना हुन नदिन प्रहरीले निगरानि बढाएको छ ।” प्रहरीले जिल्लाका नौँवटै स्थानिय तहमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो । एसपि शर्माले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गर्नुभएको छ । उहाँले सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा प्रहरीले निगरानी बढाएको बताउनुभयो । होली मर्यादित रुपले मनाउन सिन्धुली प्रहरीले माइकिङ गरेको थियो ।
जिल्ला प्रहरी सिन्धुलीका प्रमुख एसपी शर्माले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “होली पर्व आम नेपालीहरुको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व पनि भएको हुँदा हामीले विगतदेखि नै यस्ता पर्वहरुमा हामीले विगतमा मान्छेको भिडभाड हुने ठाउँलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौँ ।”
सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढंगले होली पर्व मनाउनको लागि सुरक्षा प्रवन्ध मिलाएको एसपी शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा भएका जोखिमहरुको मूल्यांकन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरु भएका थिए, त्यसको आधारमा हामीले हाम्रो सुरक्षा रणनीतिहरु बनाएका छौँ । त्यही अनुसारको प्रहरी परिचालन गरेका छौँ । मादक पदार्थ सेवा गरी सवारी चलाउनेको संख्या अत्याधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जानसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर विभिन्न ठाउँका चोकहरुमा चेकजाँच गरिनेछ । जसले सम्भवित घटनाहरुलाई न्यूनीकरण गर्दछ । कुनै ठाउँमा केही घटना भयो भने मोबाइल भ्यानलाई तत्काल परिचनालन गर्नेछौँ ।”
प्रहरी उपरीक्षक शर्माले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर सिन्धुलीको प्रमुखको नम्बर ९८५४०६५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्नुभयो ।
होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले होली पर्वको उपलक्ष्यमा सम्पुर्ण जिल्लाबासीलाई शुभकामना व्यक्त गर्दै प्रशासनले कसैलाई इच्छा विपरीत रङ, लोला, पानी तथा अन्य कुनै पदार्थ छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चनाउँने, सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता कानुन विपरीतका कार्य नगर्न र शान्ती सुरक्षा कायम राखी होली पर्व मनाउँन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरत खनालले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सद्भाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई अपिल गर्नुभएको छ । उहाँल सबैले पर्वलाई मर्यादित र संयमित रुपमा मनाउन आग्रह गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रमुख जिल्ला अधिकारी भरत खनालद्वारा हस्ताक्षारित एक सूचना जारि गर्दै, जबरजस्ती रंग अबिर दल्ने, लोला हाल्नेलगायतका कार्य नगर्न अनुरोध गरेको छ ।
होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनैपनि अमर्यादित र उच्छृंखल कार्य नगर्न अनुरोध गरिएको छ । यस बर्ष सिन्धुली सहित पहाडी जिल्लामा चैत ११ गते आइतबार र तराइका जिल्लामा चैत १२ गते सोमबार होली पर्व मनाइदै छ ।