बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

१२ वर्षदेखि अलपत्र सोखु खोला पुल निर्माणको काम धमाधम

बुधवार , चैत्र ७, २०८०

सिन्धुली – मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिनेगरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –६, रत्नावतीस्थित सोखु खोलामा आउने बाढीले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरबाट काठमाडौँ आवत–जावत गर्ने यात्रुलाई हरेक वर्ष सास्ती हुने गरेको थियो । अब भने यात्रुहरुको सास्तीका दिन जाने भएको छ । खोला तर्न नसकेर अब यात्रु छट्पटाउनु नपर्ने भएको फिक्कल गाउँपालिकाको उपाध्यक्ष राजु बरालले बताउनुभएको छ । १२ वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको सोखु खोलाको पुलको निर्माण कार्य धमाधम भइरहेको फिक्कल गाउँपालिकाको उपाध्यक्ष बरालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलामा पुल निर्माण सुरु भएको १२ वर्ष भए पनि पूरा भएको थिएन । बारम्बारको ताकेता र पहलपछि निर्माण कार्य शुरु भएको छ ।’

पुलको दुईवटै विंग्स वाल (पर्खाल) र तीनवटै स्पानको ढलान लगभग सम्पन्न भइसकेको र केहि काम मात्रै बाँकी रहेको गाउँपालिकाको सब इन्जिनियर प्रदिप खुलालले बताउनुभयो । उहाँका अनुसार यहि रफ्तारमा काम हुने हो भने आगामी वैशाख पहिलो सातासम्ममा पुल निर्माणको काम सम्पन्न हुनेछ ।

१२ वर्षअघि निर्माण कार्य शुरु भएको सोखु खोलाको पुल निर्माण सम्पन्न नहुँदा हरेक वर्ष चार जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको थियो । पुल निर्माण नहुँदा जिल्लाबाट काठमाडौँ वा काठमाडौँबाट जिल्ला हिँडेका यात्रु हरेक दिनजसो बाटैमा अलपत्र पर्नेगरेका थिए । सामान्य पानी परेसँगै सोखु खोलामा बाढी आउने हुँदा बिजोग हुने गरेको फिक्कल गाउँपालिका ६ का रिता तामाङले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘खोलामा बाढी आएर सवारी साधन वारपार गर्न नसकेपछि यात्रुहरुको बिजोग हुनेगरेको थियो । चार जिल्लाका यात्रुहरु अरु समय बिहान यात्रामा निस्केर साँझसम्म गन्तव्यमा पुग्नेगरेका छन् । तर, वर्षातको समयमा सोखु खोलाको बगरमै दिन–रात बित्नेगरेको थियो ।’

साउन महिनामा काठमाडौँबाट ओखलढुंगातर्फ जादैँ गर्दा सोखु खोलामा चार घण्टासम्म पानीको मात्रा घट्ने आशमा अलपत्र परेकाको मनोज बानियाले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘चार घण्टापछि पानीको मात्रा घटेपछि स्थानियले आठ सय रुपैँया शुल्क लिएर मोटरसाइकललाई खोला तारिदिएका थिए ।’

सोखु खोलामा पुल निर्माण गर्ने जिम्मा सुरुमा पप्पु नेपाल प्रगति जेभीले लिएको थियो । तर, पप्पु नेपालसँग ठेक्का तोडिएपछि वाइपी–विकास एण्ड ब्रदर्श–आत्रेय जेभीले पुल निर्माणको जिम्मा लिएको छ । आत्रेयले ७७ साल कात्तिक २६ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापले जनाएको छ । सोही राजमार्गमा पर्ने खाङसाङ खोला र उक्त सोखु खोलाको पुल गरी दुई वटा पुल निर्माण गर्न ५ करोड ३६ लाख ७७ हजार (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता भएको हो । हाल, आत्रेयले नै धमाधम पुलको निर्माण काम अघि बढाएको छ ।

प्रतिक्रिया